उदयपुर । कोरोना भाइरस कोभिड १९ महामारीका बीच उदयपुरमा यस वर्षको छठ पर्व प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले मङ्सिर ५ गते शुक्रबार दिउँसो ३ बजेदेखि ६ गते शनिबार विहान ८ बजेसम्म सदरमुकाम आसपासका त्रियुगा, बरुवा, फर्सेट, मुर्कुचीको छौंडिया, कटारीको तावाश्री लगायतका सबै खोलालाई निषेधित क्षेत्र घोषणा गरेपछि अधिकांश श्रद्धालुले आ–आफ्नै घरमा कृतिम पोखरी निर्माण गरी छठ पर्व मनाएका छन् ।
प्रशासनले नदी, नहर, तलाउ सरोवर लगायतका सार्वजनिक स्थानमा सामूहिक रुपमा पूजापाठ, मेला, जात्रा, भजन कीर्तन नगर्न सूचना जारी गरेको थियो ।
यस्तै त्रियुगा छठ समितिले पनि सूचना जारी गर्दै यस वर्षको छठ घर घरमा सुरक्षा सर्तकता अपनाई गर्न अनुरोध गरेको छ । विगतका वर्षहरुमा करिव पाँच सय भन्दा बढी श्रद्धालुहरुले सामूहिक रुपमा छठ पर्न त्रियुगा नदीमा मनाउने गरेको थियो । यस वर्ष कोरोना महामारीका कारण घर घरमै सर्तकता पूर्वक मनाउन अनुरोध गरिएको त्रियुगा छठ समितिका अध्यक्ष खेम नारायण यादवले जानकारी दिए ।
सोही क्रममा उदयपुरको सदरमुकाम गाईघाटमा अधिकांशले घरमै व्यक्तिगत र सामुहिक रुपमा कृतिम पोखरी निर्माण गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाएका छन् ।
त्यसै गरि, त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका भएर बग्ने त्रियुगा नदीमा यस वर्षको छठमा भने श्रद्धालु तथा सर्वसाधारणको उपस्थिति न्यून रहेको थियो । जहाँ प्रत्येक वर्ष छठका समय टाढा टाढाबाट श्रद्धालुदेखि सर्वसाधारणको घुइँचो रहने गर्दथ्यो । तर कोभिड १९ संक्रमणका कारण यस पटक चहलपहल नभएको त्रियुगा नगरपालिका ३ का चित्र खतिवडाले बताए । छठको आरती, रमाइलो हेर्न त्रियुगा खोला पुगेका ३५ वर्षीय कालुरामले सुरक्षा मापदण्ड अपनाएर छठ मनाउन दिनु पर्नेमा जोड दिन्छन् ।
त्यसै गरि, कोभिड संक्रमणले चुनौतिसंगै अवसर पनि दिएको श्रद्धालु तथा प्रदेश नं. १ का प्रदेश सांसद सुनिता कुमारी चौधरी बताईन । खोला, नहरमा भीड गर्नु भन्दा पनि आफू अनुकुल सुरक्षित रुपमा पर्व मनाउदाँ सहज भएको उनले बताईन । घरमा पानी जम्ने अवस्थाको कृतिम सानो पोखरीमा हामी छिमेकीका तीन परिवारले छठ पर्व मनाएको बताईन् । उनका अनुसार परम्परा पनि जगेर्ना हुने र धेरै भीडभाड पनि नहुने धेरै रमाईलो भएको अनुभव सुनाईन । सांसद चौधरीले भनिन् थारु भाषामा भनाईछ, ‘मन चंगा त कटौथमे गंगा अर्थात मन शुद्ध भयो भने नुहाउन गंगा नै जानु पर्दैन घरकै आरीमा नुहाए पनि पुग्ने छ ।’  
त्रियुगा नगरपालिका १२ की अर्का श्रद्धालु शशिकला दनुवारले पहिलो पटक घरमै छठ पर्व मनाएको बताईन । विगत ३ वर्षदेखि निरन्तर त्रियुगा नदीमा छठ मनाउँदै आएका दनुवार पहिलो पटक घरमै पर्व मनाउदाँ फरक अनुभूति भएको बताउँछिन् ।
यस्तै उदयपुरका पत्रकार गोपाल पोखरेलले फेसबुकमा आफ्नो टोलमा नमूना पोखरी निर्माण गरेर भएपनि छठ पर्व मनाएको भन्दै फेसबुक स्टाटस पनि लेखेका छन् । उनको फेसबुक स्टाटसमा ‘धार्मिक आस्थाको पर्व हो आफ्नै टोलमा पोखरी बनाएर भएपनि छठ पर्व मनाई छाडे, नमूना पोखरी टोलबासीले ’ लेखेका छन् ।

तस्विर : गोपाल पोखरेल, शिशिकला दनुवार, सुनिता कुमारी चौधरी, जीरा राईको फेसबुकबाट

तपाईको प्रतिक्रिया