लहान । महोत्तरीमा झूठो आरोपमा जनप्रतिनिधिबाट मुसहर समुदायमाथि कुटपिटको घटना सेलाउँन नपाउँदै सिरहाको धनगढीमाई नगरपालिका ७ कसहाका दलित परिवारमाथि कुटपिट भएको छ । गत सोमबार धनगढीमाई नगरपालिका ७ का वडाअध्यक्ष गनपैत यादव र उनका आफ्नै भतिजहरु मनोज यादव, भरत यादव, दिलिप यादव र दिपन यादवले गाउँकै ४० वर्षिय सागरदेवी साफी, छोरा उमेश, रञ्जित, उनकै जेठाजु ५० वर्षिय मागैन सफी र भतिजो शुदिप साफीलाई कुटपीट गरेको घटना सार्वजनिक भएको छ ।
उनीहरु मध्ये सागर देवीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भिर चोट लागेको छ । उनको टाउको फूट्दा ९ वटा टाँका लगाएको स्वास्थ्य केन्द्रले जनाएको छ । उनीहरु सवैको स्थानीय निजी क्लिनिकमा उपचार भईरहेको छ ।
सुदिप र रञ्जित साफीले निरपैत यादवका ट्याक्टर चलाउँदै आएका थिए । गागन खोलामा ट्क्याक्टरमा बालु भर्ने क्रममा हाइड्रोलिक पाइप खुम्चेको विषयमा निरपैतको छोरा भरतले सुदिप र रञ्जितलाई कुट पीट गरेका थिए । उनीहरुलाई कुटेर घर फर्केका भरतले उनकै घरमा रहेको सुदिपको स. ८ प २०३७ नम्वरको मोटरसाइकल तोडफोड गरेको छ । उनले खुकुरीले हालेर मोटरसाइकलको ट्याङ्की, भाइजर फूटाएको प्रहरीले बताए ।
अस्थाई प्रहरी विट, धनगढीमाई नपा ८ कसहाका प्रमुख कमल कुमर कुमार भट्टराईले विहानको विषयमा मोटरसाइकल बनाईदिने भनी सहमति भएको बताएपनि बेलुका फेरी झगडा भएको बताए । बेलुको झगडाको विषयमा अनुसन्धान भईरहेको उनले बताए ।
सोही दिन बेलुका फेरी भरत, मनोज सहितका समूहले लक्ष्मी पूजाको लागि पूजा सामाग्री किनेर फर्कीरहेका बेला १७ वर्षिय उमेश साफीलाई कुटपीट गरेका सुरेशले बताए । उनलाई सडकमा कुटेको थाहा पाएपछि निरपैतका घरमा पुगेका आफन्तहरु माथि पनि कुटपीट गरेको मागैन साफीले बताए । उनीहरुले तिम्रा छोराहरुले किन यसरी कुटपीट गर्छ भन्न नपाउँदै हामी माथि जथाभावी प्रहार भएको सागरदेवी साफीले बताईन ।
उनले भने, ‘हामी थोरैको संख्यामा छौं, दलित गरिव भएकै कारण हामीमाथि स–साना विषयमा पनि कुटपीट गर्ने गर्छ, त्यसैको पछिल्लो घटना हो यो ।’
यता वडा अध्यक्ष गणपैत यादवले घटनाबारै विस्तारै छानविन गरेर दोषीमाथि आवश्यक सामाजिक कार्वाही हुने बताए । उनले भने, ‘पहिले घाइतेहरुको उपचार होस्, त्यसपछि गाउँमै बसेर हामी मिलाउँछौं ।’
कुटपीटमा संलग्न युवाहरु अझै फरार रहेका छन् । प्रहरीले भने कुटपीटमा संलग्नको खोजी भईरहेको जनाएको छ । घटनाका बेला घाइतेहरुको उद्धारमा लागियो, पछि उनीहरुलाई खोज्दा भागीसकेका रहेछन, खोज्ने कार्य जारी रहेको प्रहरीको भनाई छ ।
मधेशमा दलित समुदायलाई निरन्तर जनप्रतिनिधिबाट कुटिनु दुखद भएको सिरहाका दलित अधिकारकर्मी संजय महराले बताए । दोषीलाई कानुनको दायरामा ल्याएर कानुनी कार्वाहीको सरोकारवालाई ध्यानाकर्षण समेत गराउनु भएको छ ।

तपाईको प्रतिक्रिया