उदयपुर । उज्यालोको पर्व भनेर चिनिएको तिहारमा उदयपुरमा माटोको मात्रै होइन मेसिनले बनाएको दियो, ढकना, कलश, हाती लगायतका सामानहरु विक्री बढेको छ ।
दीपावलीमा माटोको दियो लगायतका सामानहरु खरिद विक्री धेरै हुने भएकाले उदयपुरको मात्र नभएर जिल्ला बाहिरका व्यापारीहरु माटोको दियो, कलश, हाति, ढकना लगायतका समानहरु लिएर उदयपुर आएका छन् ।
त्रियुगा नगरपालिका ३ का प्रशुराम पण्डितले हरेक बर्ष नै आफनै गाउँमा हातले बनाएर माटोको सामानहरु बनाएर राख्ने गरेको र तिहार छठ पर्ब लगायतका चाडपर्बमा गाईघाट, देउरी, जलजले लगायतका बजारमा ल्याएर बेच्ने गरेको बताउँछन् । उनी भन्छन,‘गाउँमा आफ्नै हातले माटोको दियो, ढकना, कलश लगायतका सामानहरु बनाएर राख्ने गरेको छु, त्यही समानाहरु अहिले चाडबाडका बेला ती सामानहरु बेच्नको लागि गाईघाट ल्याएको हुँ ।’
प्रशुरामले हातले बनाएर ल्याएको माटोको दियो भने एक पिसको ५ रुपैया मात्र पर्ने गरेको छ । बोलचालमा उनी दर्जनको ६० रुपैयामा माटोको दियो बेच्ने गरेका छन् ।
‘हातले बनाएको दियो हो यसको दाम ५ रुपैया एउटाको पर्छ,प्रशुरामले भने, दर्जनको ५०—६० रुपैयामा बेच्छु ।’ उनले आफूले छठ पर्वमा अर्घ दिन र कोशी भर्ने बेलामा प्रयोग हुने ढकना, हापत, लगायतका सामानहरु पनि बेच्नको लागि राखेकोले छठ पर्ब सम्म नै गाईघाटमा बसेर माटाका सामानहरु बेच्ने जिकिर गरे ।
प्रविधिले आधुनिक युगमा मानिसहरुलाई पुर्याएसँगै दीपावलीमा माटोले बनेको दियोको सट्टा मैनबतीदेखि माटोको भाडा समेत मेसिनले बनाएको भित्रिन थालेका छन् । यसले एकातर्फ संस्कृतिको मौलिकता हराउँदै गएको छ भने अर्कोतर्फ रोजगारी समेत खोसिएको कुम्हारहरुको गुनासो छ ।
यस्तै त्रियुगा नगरपालिका ३ मोतिगडामा रहेका अर्का रामचन्द्र पण्डितले पनि सानो दियो ३० र अलि ठूलो ३५ रुपैया दर्जनमा विक्री गर्ने गरेको बताए ।
रामचन्द्र भन्छन, ‘पहिले पहिले मैनबतीको खासै प्रयोग हुँदैनथ्यो । माटोकै सबै चीज हुन्थ्यो । तर अहिले त दीपावलीमा पनि उज्यालोको लागि मैनबती र रंगीचङ्गी विजुली वत्ति कै प्रयोग गर्न थालिएको छ । यसले उज्यालोको पर्बको मौलिकतामा कमी आएको महसूस भएको छ । हामी आफ्नो संस्कृति आफै मासिरहेका छौ ।’
मैनबती र रंगीचङ्गी विजुली वत्तिको प्रयोगले चाडपबैको मौलिकता त हराउँदै गएको छ नै । अर्कोतर्फ माटोले बनेको दियो ब्यापारमा समेत पछिल्लो समय केही गिरावट आएको उनको भनाई छ । ‘अहिले मानिसहरु मैनबती र विभिन्न किसिमका विजुलीको वत्ति पनि प्रयोग गर्न थालेका छन,यसले चाडबाडको मौलिकता हराएको छ, रामचन्द्रले भने, ‘माटाको दियोहरु पहिलेको भन्दा अहिले बिक्री पनि कम भएको छ ।’
उनले तिहारमा उज्यालोको लागि जति पनि मैनबती र रङ्गीचङ्गी विजुली वत्ति बालेपनि दियोको जस्तो सुन्दर सुहावन भने नदेखिने गरेको जिकिर गरे । ‘खास गरि शहरी क्षेत्रका मानिसहरुले मैनबतीको प्रयोग गर्दछन’,रामचन्द्रले भने, ‘तर दिपावलीमा माटोको दियो बाल्दा जुन, सुन्दरता देखिन्छ त्यो मैनबती र विजुली वत्तिमा कहाँ देखिन्छ र ?’
यस्तै उज्यालोको पर्व भनेर चिनिएको दिपावलीमा माटोले बनेको दियो प्रयोग गर्न छोडैर मैनबती र रङ्गीचङ्गी बलको प्रयोग गर्न थालेपछि यसले मौलिकता हराउँदै गएको दियो किन्दै गरेको त्रियुगा नगरपालिका ३ की उषाकुमारी चौधरीको भनाई छ । उनी भन्छिन्, ‘दिपावलीमा मैनबतीको सटा माटोले बनेको दियो नै सबैले प्रयोग गरौँ ।’
उनले आफूले अहिले पनि हरेक वर्ष दिपावलीमा माटोले बनेको दियो नै बाल्ने गरेको सुनाउदै सबैलाई माटोको दियो नै बाल्नुपर्ने सुझाव दिइन् । ‘मैले त हरेक बर्ष आफनो घरमा दिपावलीमा माटोले बनेको दियो नै बाल्ने गरेको छु, चौधरीले भनिन, ‘सबैले दिपावलीमा माटोले बनेको दियो नै बाल्नुपर्छ ।’

तपाईको प्रतिक्रिया