उदयपुर । अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईको नक्कली फेसबुक आइडी बनाएर पैसा माग्ने एक जनालाई उदयपुर प्रहरीले नियन्त्रणमा लिएको छ । नक्कली फेसबुक बनाई सर्बसाधारणलाई सापटी भन्दै पैसा माग्ने त्रियुगा नगरपालिका ११ गाईघाटका २१ वर्षिय पंकज साहलाई प्रहरीले सोमबार प्रहरीले पक्राउ गरेको हो ।

सर्वसाधारणमात्र नभई जनता समाजवादी पार्टीका नेता राहुल यादवसमेतलाई पैसा मागेपछि नक्कली फेसबुकको कर्तुत खुलेको हो । ३० हजार पैसा सापटी दिन भन्दै च्याट आएपछि प्रवक्ता राईलाई सोमबार सोधेका थिए ।

तर, आफुले पैसा सापटी नमागेको भनेपछि नक्कली फेसबुकबाट च्याट आएको पत्ता लागेको थियो । प्रवक्ता राईका अनुसार आफ्नो नाममा नक्कली फेसबुक चलेको थाहा पाएपछि तत्काकालै प्रहरीमा उजुरी गरेका थिए ।प्रहरीले तदारुक्ताका साथ खोजी गरेपछि साह पक्राउ परेका थिए । उनी गाईघाटबाटै पक्राउ परेको प्रहरीले जनाएको छ । उनले आफुले नक्कली फेसबुक बनाइ मानिसलाई पैसा माग्दै ठगी गरेको स्विकारेको जिल्ला प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालले जानकारी दिए । यसबारे थप अनुसन्धान चलिरहेको एसपी दाहालले जानकारी दिए ।

साहले यस अघि नै त्रियुगा नगरपालिका १० का विगेश राईको नाममासमेत नक्कली फेसबुक बनार्इ ठगी गरिरहेको प्रहरीले पत्ता लगाएको छ । नक्कली फेसबुक आइडी बनाउने विरुद्ध साईबर क्राईम अन्तर्गत कारवाही अघि बढाईने प्रहरीले जनाएको छ ।

एन्फा प्रवक्ता राई सतारुढ दल नेकपा उदयपुरका नेता पनि हुन् । उनी स्थानीय तहको निर्वाचनबाट तत्कालिन नेकपा माओवादी केन्द्रबाट त्रियुगा नगरपालिकाका मेयरका उम्मेरबार बनेका थिए ।

तपाईको प्रतिक्रिया