उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका ४ बलम्ता लाकुका अग्नी पीडित परिवारलाई पालिकाले राहत उपलब्ध गराईएको छ । शनिबार विहान घरमा कोही नभएका बेला भएको आगलगीमा परी उदेशबहादुर राईका दुई घर र मतान तथा भाई देवबहादुर राईको गोठ जलेर नष्ट भएको थियो ।
गाउँपालिका अध्यक्ष मेजर कुमार राई, विपत व्यवस्थापन समिति संयोजक भुपाल खड्का, गाउँपालिका शिक्षा अधिकारी बिनोद राई र नेकपा जिल्ला कमिटी सदस्य होम किराँती समेतको टोली पीडितको घरमै पुगेर चामल, दाल, नुन, तेल लगायत खाद्यान्न सामग्री प्रदान गरेको वडाध्यक्ष यन्डप्रसाद राईले जानकारी दिए । उनका अनुसार अन्य सरोकारवाला निकायसमक्ष पनि राहतका लागि सिफारिस गरिएको छ ।
विहान ११ बजे गोठबाट एक्कासी सल्केको आगोले गोठ, मतान र घरभित्र रहेको १० मुरी मकै, १२ मुरी धान, २५ हजार नगद, लुगाफाटा, भाडा वर्तन, नागरिक्ता, जन्मदर्ता, जग्गा धनी पुर्जा लगायत महत्वपूर्ण कागजात जलेको पीडितका छिमेकी तथा गाउँ कार्यपालिका सदस्य जानुका राईले बताईन् । यस्तै गोठ जल्दा त्यसभित्र बाँधेर राखेका ८ वटा गाई र ८ वटा खसी बाख्रासमेत जलेर क्षति पुगेको थियो ।
चर्को घाम लागेका बेला भएको आगलागी नियन्त्रण गर्न गाउँभरीका मान्छे भेला भएर लगभग ३ घण्टाको प्रयासपछि संभव भएको राईले बताईन् ।
लिमचुङबुङ इलाका प्रहरी कार्यालय बाराहाबाट आएको टोलीले स्थलगत निरीक्षण गरी सर्जमिन मुचुल्का गरेर फर्केपछि गाउँपालिका अध्यक्ष र बिपत व्यवस्थापन समिति संयोजकसहितको टोली आएर पीडितको घरमै राहत प्रदान गरेको वडाध्यक्ष राईले बताए । आगलागीपछि १० जनाको पीडित परिवारलाई तत्काललाई छिमेकीहरुको घरमा सरण दिएर राख्नु परेको वडाध्यक्ष राईले बताए ।
प्रहरीका अनुसार २१ लाखभन्दा बढी क्षति भएको पीडितहरुको उद्धार र राहतका लागि गाउँपालिकाले अन्य सरोकारवाला निकायसमक्ष सिफारिससहित आग्रह गरेको जनाएको छ ।









