राजेन्द्र महतो, लहान । सिरहा जिल्लाको औरही गाउँपालिका २ तुलसीपुरका एक दलित महिलालाई पटक पटक स्थानीय गैरदलितका केही व्यक्तिहरुले जबरजस्ती कुटपिट तथा अभद्र व्यबहार गर्नेलाई प्रहरीले उल्टै संरक्षण दिइएको पाइएको छ ।

औरही गाउँपालिका २ का रामपुकार मण्डलका श्रीमती ३२ वर्षिय सुनिता देवी मण्डल (खत्वे) लाई स्थानीय चार जनाले कुटपिट तथा अभद्र व्यबहार गरेपनि पीडितले न्याय पाउन सकेकी छैनन् ।

सोही ठाउँका स्थानीय रामवली यादवका छोरा २० वर्षिय श्याम सुन्दर यादव र छोरी २३ वर्षिय रामकुमारी यादव, भविया यादवका ३० वर्षिय छोरा ललुवा यादव र गोपाल यादवको श्रीमती लगायतले मरणासन्न हुने गरि कुटपिट गरेको पीडित महिलाले बताईन् ।

श्रीमान मजदुरीका लागि भारतको पंजाब गएको मौका छोपी निर्घात कुटपिट गरि शरीरमा भएका लुगाहरु च्याति दिएको र घिसारेर पटक पटक कुटपिट गरेको पीडित महिलाको आरोप रहेको छ ।

पीडित महिलाले न्यायका लागि पीडकहरु विरुद्ध असोज २८ गते नै जिल्ला प्रहरी कार्यालय महिला सेलमा उजुरी दिएकी थिईन् । उनका अनुसार उजुरी दिएपनि प्रहरीले कुटपिट गर्नेलाई कुनै कारबाही नगरेको र उल्टै संरक्षण गरेको आरोप लगाएकी छिन् ।

यता प्रहरीले कुटपिट तथा अभद्र व्यवहार गर्नेलाई खोजी कार्य जारी रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया