उदयपुर । कोरोना भाइरसको संक्रमणबाट उदयपुरका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । कटारी नगरपालिका ३ ताराघारीका १७ वर्षिय पुरुष र चौदण्डीगढी नगरपालिका ७ की ४२ वर्षिय महिला कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कटारी ताराघारीका युवक दुई दिन अघि विरामी भई स्वास प्रश्वासमा समस्या भएपछि उपचारको लागि सिरहाको फुलकुमारी महत्तो मेमोरियल अस्पताल कन्जर्हा लगिएकोमा शुक्रबार उपचारको क्रममा मृत्यु भएको कटारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले जानकारी दिए ।

यस्तै ४२ वर्षीया महिलाको उपचारको क्रममा शनिबार बिहान म्याक्स अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

अस्पतालका म्यानेजर हेमनारायण मेहताले ती महिलाको बिहान ७ बजे मृत्यु भएको बताएका छन् । उनलाई शुक्रबार अन्य रोगको उपचारको लागि बेलुकी अस्पताल भर्ना गरिएको थियो ।

मृतकलाई अन्तिम संस्कारका लागि गृह जिल्ला नै ल्याउने काम भईरहेको चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पोखरेलले जानकारी दिए ।

उदयपुर कोभिड-१९ अस्पताल सातधारे चौदण्डीगढीमा ६ जनाको उपचार भईरहेको छ । जसमा त्रियुगा र बेलका नगरपालिकाका एक एक जना र चौदण्डीगढी नगरपालिकाका चार जना रहेका छन् । उदयपुमा ७३ महिला सहित कोरोना संक्रमितको संख्या २ सय ३५ पुगेको स्वास्थ्य कार्यलय उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया