राजेन्द्र महतो, लहान । सिरहामा कटुवा पेस्तोल र लागू औषध सहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार कर्जन्हा नगरपालिका २ बन्दीपुर स्थित स.७ प. २५५३ नम्बरको मोटरसाइकलमा सोही ठाउँका २२ वर्षीय युवक डिम्पल यादवको साथबाट हतियार र लागू औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिए ।
प्रहरीले डिम्पललाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा घटनामा स्थानीय २२ वर्षीय प्रेमनाथ यादवको समेत संलग्‍नता रहेको खुल्न आएपछि डिम्पल यादव र प्रेमनाथ यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए ।
उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा लाग्‍ने गोली एक थान र लागू औषध नाइट्रोभेटसहित बरामद गरिएको डिएसपी शर्माले बताए। आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बन्दीपुरमा राखिएको छ ।

तपाईको प्रतिक्रिया