लहान । नेपाल पत्रकार महासंघ सिराहा शाखाका सदस्य कृष्णमोहन चौधरीको उपचारको क्रममा मंगलबार निधन भएको छ । सिराहाको सुखीपुर नगरपालिका– ८ स्थायी घर भएका ३५ वर्षिय चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको नेपाल पत्रकार महासंघ सिराहा शाखाले शोक व्यत्तव्य जारी गर्दै जनाएको छ । घुँडाको जोर्नी सुन्निएर रगत पिप जमेपछि करिब दुई हप्ता पहिले आर. के. मेडिसिटीमा शल्यक्रिया गर्दा पनि सञ्चो नभएपछि चौधरीलाई ७ कात्तिकमा धरान लगिएको थियो । धरान पुऱ्याए पनि हातखुट्टा र शरीर थप सुन्निन नरोकिएपछि उपचारको क्रममा उनको निधन भएको हो ।
आर.के. मेडिसिटीमै ठीक हुन्छ भन्दै करिब दुई हप्ता रोकेर अवस्था गम्भीर बनेपछि मात्र रेफर गरिएकाले दुःखद निधन भएको भन्दै परिवारजनले गुनासो गरेका छन् ।
चौधरीको निधनप्रति नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ता र प्रादेशिक समिति प्रदेश नम्बर २ का महासचिव किरण कर्णले छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै दिवंगत पत्रकार चौधरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
चौधरी मिथिला आवाज साप्ताहिकको कार्यकारी सम्पादक र सलहेश तथा समाद एफएमका संवाददाता रहेका थिए । उनका दुई छोरा, एक छोरी र पत्नी रहेका छन् ।

तपाईको प्रतिक्रिया