उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा संचालित अवैध पोलिक्लिनिक आइतबार सिल गरेको छ । शनिबार टाईम्स पोलिक्लिनिक एण्ड हेल्थ केयर सेन्टर प्रा.लि.मा उपचार गराउँदा गराउँदै एक युवतीको ज्यान गएको थियो ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका २ सनुवाकी २३ वर्षिय युवती विनिता थापा रहेकी छिन् । सामान्य पेट तथा टाउको दुख्ने भएपछि शनिबार विहान ८ बजे उपचारको लागि पोलिक्लिनिक भर्ना गरेकी युवतीको दिउँसो १ बजे मृत्यु भएको थियो ।
स्वास्थ्य कार्यालय उदयपुर र त्रियुगा नगरपालिकाको स्वास्थ्य शाखामा समेत अनुमति नलिइएको देखिएकोले पोलिक्लिनिक सिल गरिएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । स्वास्थ्य कार्यलय सँगै प्रहरी, प्रशासन, स्थानीय, जनप्रतिनिधि वाणिज्य संघ लगाएतको उपस्थितिमा सिल्ड गरिएको छ ।
पीडितका बुबा कृष्ण कुमार थापाले डाक्टरको लापरबाहीले आफ्नो छोरीको मृत्यु भएकोले पोलिक्लिनिकका संचालकलाई पक्राउ गरी कारबाहीको माग गर्दै प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । प्रहरी कार्यालयमा जाहेरी दिएपछि दर्ता नभएको मृतकका दाजु विक्रम थापाले जानकारी दिए ।
कात्तिक ८ गते विहान सामान्य पेट तथा टाउको दुखेको हुँदा छोरीलाई उपचार गराउन टाईम्स पोलिक्लिनिकमा जाँदा संचालक डाक्टर रामजिवन यादवले विरामीको अवस्था सामान्य छ म विरामीलाई औषधि उपचार गरेर पूर्ण रुपमा निको पार्न सक्छु भर्ना गर्नु पर्छ भनेपछि मैले सोही विश्वासमा परि विरामी भर्ना गरेको जाहेरीमा उल्लेख छ ।

पोलिक्लिनिक संचालक तथा डाक्टर यादवले विरामीलाई के कुन किसिम के कस्ता ५/६ प्रकारका औषधिहरु इन्जेक्सनबाट चलाएपछि औषधि उपचार गराउँदै गर्दा दिउँसो १ बजेको समयमा छोरी अचानक बेहोस भई शरिर सिथिल भएपछि डाक्टरले तपाईको विरामीलाई उपचार गर्न सक्दिन भन्दै जबरजस्ती रेफर कागज थमाएर पोलिक्लिनिकका मानिसहरुले विरामीलाई बाहिर निकालेको जाहेरीमा उल्लेख छ ।
पोलिक्लिनिकको हेलचेक्राईले मेरो छोरीको मृत्यु भएकोले डाक्टरलाई आवश्यक कारबाही गरी क्षतिपूर्ति दिलाउन जाहेरीमा माग गरेको छ ।
पोलिक्लिनिक सिल गरेर पोष्टमार्टम गरि थप अनुसन्धानको लागि मेडिकल काउन्सिल पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भिमबहादुर दाहालले जानकारी दिए । संकलित घटना प्रकृति मुचुल्का, पोष्टमार्टम रिर्पोट र पीडितको जाहेरी लगायतको कागजात मेडिकल काउन्सिल काठमाडौं पठाउने एसपी दाहालले बताए ।
पोलिक्लिनिकमा सिल गरेपछि थप कारबाही तथा अनुसन्धानको लागि मेडिकल काउन्सिलमा पठाउने सहमति पछि लाशको पोष्टमार्टम भएका थिए । पोष्टमार्टम पछि शव आफ्न्तले बुझेर दाहसंस्कार गरेका छन् ।
सम्बन्धित समाचार
उदयपुरमा विना दर्ता संचालनमा रहेको पोलिक्लिनिकमा उपचार गराउँदा गराउँदै एक युवतीको मृत्यु









