उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा रहेको विना दर्ता संचालनमा रहेका एक पोलिक्लिनिकमा उपचार गराउँदा गराउँदै एक युवतीको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ११ टेम्पो स्टेण्ड छेउमा विना दर्ता संचालनमा रहेका टाईम्स पोलिक्लिनिक एण्ड हेल्थ केयर सेन्टर प्रा.लि.को डाक्टरको गलत उपचारले विरामीको ज्यान गएको पीडित परिवारको आरोप रहेको छ ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका २ सनुवाकी २३ वर्षिय युवती विनिता थापा रहेकी छिन् । टाउको दुख्ने र रिङ्गाटा लागेपछि शनिबार विहान ८ बजे उपचारको लागि पोलिक्लिनिक ल्याएको दाजु विक्रम थापाले बताए । उनले भने, ‘विहान ११ बजे सम्म ठिकै थियो । विहानको खाना र पाउरोटी खाएर हिडडुल गर्दै थियो । दिउँसो १ बजेतिर कुन औषधि दियो थाह भएन, एक्कासी मुखबाट रगत बग्न थालेपछि हतार हतार डाक्टरले हामी उपचार गर्न सक्दैनौं भन्दै रेफर गर्यो ।’ विरामीलाई जिल्ला हस्पिटल पुर्याए लगतै चिकित्सकले मृत घोषणा गरेको पीडितका दाजु विक्रमले बताए । उनका अनुसार बहिनीलाई पाँच मिनेटको बाटो जिल्ला अस्पताल नपुग्नु अगाडी नै पोलिक्लिनिकमा गलत उपचारको कारण मृत्यु भईसकेको दावी रहेको छ । 
पोलिक्लिनिकका डाक्टर रामजिवन यादवसँग कुरा गर्दा उल्टै ट्यापे मुन्द्रे बोलाएर हामीलाई धम्काएको पीडितका दाजु विक्रमले बताए । उनका अनुसार प्रहरी आउनु पर्नेमा ट्यापे मुन्द्रे बोलाएर हामीलाई धम्की दिएपछि गाउँले साथीहरुलाई बोलाउन बाध्य भएको बताए ।
यस्तै पीडितका आफ्न्त आन्नद खड्काले पोलिक्लिनिकको डाक्टरले गलत उपचारको कारणले सामान्य टाउको र रिङ्गाटा लागेको व्यक्तिको मृत्यु भएकोले पीडितलाई न्याय दिनु पर्ने बताए । 
पीडितहरुका माग हाम्रो छोरी चेलीलाई पोलिक्लिनिकको लापरबाहीले मारेकोले हामीले न्याय पाउनु पर्ने बताएका छन् ।
टाइम्स पोलिक्लिनिक संचालनको कुनै अनुमति नपाएको त्रियुगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख अवध नारायण चौधरीले जानकारी दिए ।
यस्तै टाइम्स पोलिक्लिनिक स्वास्थ्य कार्यालय उदयपुरमा पनि दर्ता नरहेको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
मृतक युवतीको उपचारमा संलग्न डा. रामजिवन यादवलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए ।









