उदयपुर /उदयपुरमा पहिलोपटक फुडफेस्टिवल (खानाको परिकार) मेला मंगलबार समापन भएको छ । जिल्ला होटल व्यवसायी संघ र झीगु नेवाः पुचः उदयपुरको संयुक्त आयोजनामा गत पुस १ गतेदेखि १० गतेसम्म सदरमुकाम गाईघाटमा संचालन भएको खाना परिकार महोत्सव विधिवत रुपमा समापन भएको हो ।
समापन कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले स्थानीय उत्पादनलाई प्रोत्सहान गरेकोले यस मेलाको सार्थकता रहेको बताए । उनले यस्ता किसिमको फुड फेस्टिभलले लोप हुन लागेको खानाको प्रदर्शनले स्थानीय व्यवासायीहरुको राम्रो आम्दानीको स्रोत हुनुको साथै विभिन्न जातजातिले खाने खानाको पहिचान भएको बताए । उनले फुड फेस्टिभलले लोप हुन लागेको विभिन्न जातजातिको संस्कृतिको प्रर्दशनले आन्तरिक तथा बाह्य पर्यटकको मनोरन्जनको केन्द्र मात्रै बनेन आगामी दिनमा यस्ता कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटक भित्राउन होमस्टे संचालन गर्न मद्धत पुग्ने समेत बताए । परम्परागत परिकारले स्थानीयको व्यापार बढ्नुको साथै विभिन्न जातजातिको खाने खानको पहिचान भएको बताए । मेयर चौधरीले यस्ता किसिमको मेला लगाउन आफ्नो साथ सहयोग रहने प्रतिवद्धता जनाएको थियो । नेपाली खानालाई विश्वबजारमा अझै शसक्तरुपमा लैजानु यस्ता मेला महोत्सवले सहयोग पुग्ने बताउँदै प्रदेशकै पहिलो नमुना मेला भएकाले स्थानीय सरकारले सहयोग गर्ने बताए । ‘पर्यटन भित्र्याउने एउटा मुख्य आधार खानाका परिकार पनि हुन,’ उनले भने, ‘विदेशीहरु नेपालमा खानको स्वाद लिन पनि आउने गरेकाछन् ।’
आफुसँग स्रोतसाधन भएर पनि त्यसको उचित व्यवस्थापन र क्षमता नपुग्दा नेपालीहरु अझैपनि पुरानै रितिरिवाज र संस्कारबाट खानाका परिकारहरु बनाउन बाध्य भएको बताउँदै मेलाले खानाको परिकार बनाउनन पनि सहयोग पुर्याएको उनले बताए ।
‘खासगरी खानाको परिकार मेलाको उदेश्य भनेकै स्थानीय र संस्कृति झल्कने परिकार हो,’ मेयर चौधरीले भने, ‘परिकार बनाउँदा आफ्ना पहिचान झल्कने गरी नयाँपन दिन सकियो भने त्यसको महत्व रहन्छ ।’
मेलामा जिल्लाको पहिचान झल्कने गरी विशेषगरी मकैको खाना, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक, भुटेको मकै, खिर, सेलरोटी, फापरको परिकार, नेवार सुमदायको यमरी, दनुवारको अन्डी, थारुको घुगी जस्ता परिकारहरु प्रमुख आकर्षक रहेको थियो ।
त्यस्तै विभिन्न जातजातीका भेषभुषा तथा झाँकी, लोक सँस्कृति, हस्तकला सामग्री, छमछमी सिजन २ जस्ता कार्यक्रम संचालन भएको थियो ।

‘दिपमा’ ले जितिन नेवाः छमछमी–२ को उपाधि


उदयपुरको सदरमुकाम गाईघाटमा सम्पन्न पहिलो खाना परिकार मेला तथा लाखे महोत्सवको आकर्षण नेवा छमछमीको उपाधी दिपमा खुलालले हासिल गरेकी छिन । मंगलबार सम्पन्न फाईनलमा २२ जना प्रतियोगिलाई पछाडी पार्दै खुलालले उपाधी हात पारेकी हुन । नेवा छमछमीको उपाधी सँगै खुलालले नगद २१ हजार र प्रमाण पत्र प्राप्त गरिन । आकाशैमा बोलका गितमा नित्य प्रस्तुत गरेकी खुलाल नृत्य क्षेत्रको चम्किलो तारा भएको प्रतियोगिताका निर्णयाक शैलेन्द्र खतिवडाले टिप्पणी गरे । त्यस्तै नेवा छमछमीमा प्रेम कुमारी मगरले द्धितिय स्थान हासिल गरेकी छिन । मगर द्धितिय स्थान सँगै नगद १५ हजारले पुरस्कृत भईन । तृतीय स्थान भने मुना तुम्बायोले प्राप्त गरिन । उनीले नगद ११ हजार प्राप्त गरेकी आयोजक दिनेश श्रेष्ठले जानकारी दिए । स्थानीय प्रतिभाहरुलाई बाहिर ल्याउने उद्देश्यका साथ नेवा छमछमी प्रतियोगिता आयोजना गरिएको हो । कला संस्कृतीको जर्गेना गर्ने ध्ययले लाखे महोत्सवमा नेवा छमछमी प्रतियोगिता समेत राखिएको छ । छमछमी प्रतियोगितामा सहभागि २२ जना मध्ये सोमबार साँझ ८ जना सहभागी प्रतियोगिताबाट बाहिरिएका थिए । नेवा छमछमी प्रतियोगितामा १४ जना दोस्रो चरणमा र ११ जनाले फाईनल प्रतिस्पर्धा गरेका झिगुँ नेवा पुःचका सदस्य दिनेश श्रेष्ठले जानकारी दिए । कला संस्कृति र प्रतिभालाई संरक्षण सम्बर्द्धन गर्दै अगाडि बढिरहेको झिगु नेवा पुच गाईघाटले ‘ब्यक्ति एक प्रतिभा अनेक’ भन्ने मुल नाराको साथ नेवा छमछमी सिजन २ आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया