काठमाडौंँ । नाटक लेखन, निर्देशन तथा अभिनय गर्दै आएका प्रदीपकुमार चौधरी’ पीकेडन’ले थारु भाषाको गीत तथा म्युजिक भिडियो निर्देशनमा पाइला चालेका छन्।
पुर्वी थारु भाषामा ‘घुइम घुइमके ताकेबालीके, पछा पछा ज्याम लागैये’ गीतको म्युजिक भिडियोमार्फत निर्देशन सुरु गरेका हुन।
आइतबार देवदत क्रिएशन मार्फत नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गर्दै उनले अब थारु भाषामा थारुको संस्कार र संस्कृति झल्कने गीत तथा म्युजिक भिडियोलाई निर्देशनमा समेत पाइला चालेको बताए।उनले भने, ‘ थारु कला र संस्कृति एउटा पहिचान पनि भएकाले यसको संरक्षण र संवर्द्धनका लागि मैले थारु गीत(संगीतको क्षेत्रमा पाइला चालेको हुँ। अब म यसमा निरन्तर लागिरहन्छु। थारुको पहिचान र प्रतिनिधित्व म्युजिक भिडियो निर्देशनमार्फत पस्किने कोशिस गर्नेछु।’
पूर्वी नेपालको सुनसरी र सप्तरी जिल्लाका विभिन्न क्षेत्रमा छायांकन गरिएको थारु भाषाको उक्त गीतको शब्द रचना प्रदीपकै रहेको छ। यस्तै पश्चिम कैलालीकी चर्चित गायिका अन्नु चौधरी र चिववनका गायक मनोज महतोले स्वर दिएका छन्।
गीतमा सुदिप खतिवडाले संगीत भरेका छन् भने सप्तरीका प्रसिद्ध थारु गायक विजय चौधरीले संगीत संयोजन गरेका छन्।
यता, गीतको म्युजिक भिडियोमा थारु मोडल देविन चौधरी र एण्डिशा चौधरीले अभिनय गरेका छन् भने आकृति चौधरीले यसैगीत मार्फत डेब्यू गरकी छिन्।
यस्तै गीतमा श्रवन कुमार चौधरीको छायांकन र रजनीश चौधरीको कोरियोग्राफी रहेको छ।
गीतमा पूर्वमेचीदेखि पश्चिम् महाकालीसम्मका दर्शक सबैले बुझ्ने सजिलो मानक भाषाको सानो प्रयोग गरिएको निर्देशक चौधरीले जानकारी दिए। पछिल्लो समय निर्देशक प्रदीप चौधरी मण्डला थिएटरमा रहेर ‘काला पत्थरमाथि’, मसानटार, महाभोज, झिम्के मामा लगायतका दर्जनौ नाटकहरु निर्देशन गरिसकेका छन्।