उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १० घर भएका ६६ वर्षिय वृद्धको उचपारको क्रममा आइतबार विहान मृत्यु भएको छ । जिल्ला अस्पताल गाईघाटमा ३ दिन उपचार गरेर थप उपचारको लागि न्यूरो हस्पिटल विराटनगर रेफर गरिएको थियो ।
फोक्सो करिव करिव खराब भईसकेकोले स्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटर आवश्यक पर्ने भएकोले विराटनगर ल्याएकोमा मृत्यु भएको मृतकका छोराले नागरिक बहससँग बताए । ‘कहि कतै नजाने बुबामा कहाँबाट कोरोना संक्रमण भयो म आफै आश्चर्यमा छु ।’ उनले भने, ‘ जिल्ला अस्पताल गाईघाट बोक्सेमा ३ दिन राखेपनि सुधार नहुने देखिएपछि बुवालाई भेन्टिलेर सहितको सुविधा सम्पन्न अस्पतालमा रेफर गरेर ल्याएका थियौं ।’
शुक्रबार न्युरो हस्पिटलमा भर्ना गरेर उपचार गरेका थियौ । ‘डाक्टरले कोरोना परीक्षण पनि गर्नु पर्ने भनेपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा शनिबार रिपोर्ट पोजिटिभ आएपछि न्युरोकै कोभिड अस्पतालमा शनिबार ४ बजे बेलुका भर्ना गरेर उपचार थालिएको थियो ।’, छोराले भने, ‘उपचारको क्रममा आईतबार विहान बुबाको मृत्यु भयो ।’ बुबा मधुमेहका विरामी समेत रहेको उनले बताए ।
उनले भने, ‘बुबाको शव दाहसंकारका लागि नेपाली सेनालाई जिम्मा लगाएर हामी घर तर्फ आउँदै छौं । भने बाबुको काजक्रिया आफ्नै संस्कार अनुसार गर्ने छौं ।’
यस अघि पनि कोरोना संक्रमित उदयपुरका त्रियुगा नगरपालिका ४ सार्की टोलका एक शिक्षकको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो ।
यस्तै आइतबारबाटै जिल्ला अस्पताल गाईघाटका एक रेडियोग्राफरलाई कोरोना संक्रमण पुष्टी भएपछि इमरजेन्सी र प्रसुति सेवा बाहेक अन्य सेवाहरु बन्द गरेको छ ।









