उदयपुर । उदयपुरको कटारी नगरपालिकामा डाक्टर सहित ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कटारी अस्पतालका २ डाक्टर, २ कार्यालय सहयोगी, एक स्वीपर र अस्पताल परिषरमा क्यान्टि संचालक दुई जनासहित सेन्चुरी बैंक ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।
कटारी अस्पतालमा उपचार गरेर काठमाडौं रेफर गरिएको एक विरामीमा कोरोना संक्रमण पुष्टी भएपछि असोज २१ गते ६४ जनाको स्वाब संकलन गरेर परीक्षणको लागि शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकु काठमाडौँमा पठाईएको थियो । संकलित स्वाब मध्ये ५९ जनाको रिर्पोट मध्ये ११ जनामा कोरोना संक्रमण पुष्टी भएको कटारी नगरपालिकाका प्रवक्ता कृष्णराज दनुवारले जानकारी दिए । ५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
उनका अनुसार काठमाडौं रेफर गरिएको विरामीलाई कोरोना संक्रमण देखिएपछि कटारी अस्पतालको सम्पूर्ण सेवा बन्द गरिएको थियो ।
यस्तै कटारी नगरपालिकाले एक सूचना जारी गर्दै असोज १२ गतेदेखि पछि कटारी अस्पताल र सेन्चुरी बैंकबाट सेवा लिएकाहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ ।









