उदयपुर । सिद्धिचरण राजमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका ८ सिरिसे स्थित सानो दमारमा कन्टेनर करिव पाँच सय मिटर तल खसेको छ । बुधबार साँझ ओखलढुंगाबाट कटारी तर्फ आउँदै गरेको ना ५ ख ९४२४ नम्बरको कन्टेनर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन् ।
दुर्घटनामा परी दुई जनाको घटना स्थलमै ज्यान गएको छ भने दुई जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए । कन्टेनर करिव पाँच सय मिटर तल खसेकोले छ ।
मृत्यु हुनेमा मिन राना मगर र राकेश कुमार यादव रहेका छन् । स्थानीयले मृतक मिन राना मगरको पहिचान गरेको छ भने अर्का मृतकको गोजीबाट राकेश कुमार यादवको नामको कार्ड फेला परेको छ । यादवको शव ठूलो ढुंगाले थिचिएको र पानी परिरहेकोले शव निकाल्न नसकेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । घटना स्थलमा नेपाल प्रहरी तैनाथ रहेको छ ।
यस्तै योगेन्द्र दाहाल र विजय भुजेल गम्भिर घाइते भएका छन् । उनीहरुको कटारी अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका लागि बिराटनगर रेफर गरिएको कटारी अस्पतालले जनाएको छ । टाउकोमा चोट लागेकोले घाइतेलाई रेफर गरिएको कटारी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजकुमार गजमेरले जानकारी दिए ।
घटना बारे थप विवरण आउन बाँकी रहेको छ ।









