दशैं र तिहारमा मुग्लानबाट फर्किइ परिवारसित चाडपर्व मनाउने यहाँको विगतको परम्परा यस वर्ष कोरोना कहरका कारण सङ्कटमा परेको छ । बन्दाबन्दीमा कोरोनाको त्रासले स्वदेश फर्किएकाहरु चाडपर्वको मुखमा पुनः रोजगारीका लागि भारत गइरहेका छन् ।
कञ्चनपुरको गड्डाचौकी नाका र गौरीफन्टा नाकाबाट सोमबार बिहान मात्रै २३७ जना रोजगारीका लागि भारतका विभिन्न शहर गएका छन् ।“विगत वर्षहरुमा यो समयमा सीमानाकामा दशैं मनाउने घर आउनेहरुको लर्को देख्न पाइन्थ्यो ।” जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने“ मजदुरीका लागि भारत जानेहरु चाडपर्वको मुखमा पनि जाने क्रम रोकिएन् ।”
सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको गन्तव्य हो, भारत । कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन गरेयता मात्रै यहाँका नाकाहरुबाट मात्र झण्डै दुई लाख नागरिक स्वदेश फर्किएका थिए ।गाउँमा रोजगारी नपाइनुले पनि उनीहरु कोरोना कहरकै बीच पुनः भारत रोजगारीका लागि जाने क्रम गत महिनादेखि शुरु भएको हो ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जंगबहादुर मल्लले बन्दाबन्दीमा सात महिनादेखि बेरोजगार युवाहरु बाध्यताले चाडपर्वका बेला भारत गइरहेको बताए । उनले विपन्न समुदायमा छाक टार्न समेत धौ धौ हुनेस्थित देखिन थालेको बताए ।
बजार, व्यवसाय कोरोनाका कारण धराशायी रहेको जनाउँदै उनले यस्तो महाकष्टका बेला बजारमा भीडभाड पनि गर्न आग्रह समेत गरे । “स्वास्थ्यसितको कुरो भएकाले पनि यस बर्ष दशैंमा चहलपहल गर्नु हुदैन ।” अध्यक्ष मल्लले भने“आर्थिक चपेटाका बीच पनि स्वास्थ्यप्रति संबेदनशील हुने बेला हो ।”सोमबार गड्डाचौकी नाकाबाट २४५ जना र गौरीफन्टा नाकाबाट ३४४ जना स्वदेश फर्किएको थिए ।
गड्डाचौकीनाकाबाट भारत मजदुरीका लागि जाँदै गरेका लालझाँडी गाउँपालिकाका पुरन रानाले आफू भारतको सिमाला गइरहेको बताए । “यो स्याउ टिप्ने मौसम हो ।” उनले भने–“हामीले स्याउ टिपेर कमाएको पैसाले घर खर्च चल्छ ।” लकडाउनका बेला घर फर्किएका रानाले घरखर्च चलाउन समस्या हुन थालेपछि भारत जान लागेको सुनाए ।









