ओखलढुङ्गा – ओखलढुङ्गाका बन्द सामुदायिक विद्यालयको पठनपाठन सञ्चालन गर्न पालिकामा चुनौती छ । कतिपय पालिकाका विद्यालयमा क्वरेण्टीन र कतै होल्डिङ सेन्टर स्थापना गरिएका छन् ।
सदरमुकाम ओखलढुङ्गामै रहेको सगरमाथा जनता माविमा क्वरेण्टीन बनाइएको छ । त्यहाँ अहिले पनि बाहिरबाट आएका व्यक्तिलाई राखिएको छ । यसरी क्वरेण्टीन तथा होल्डिङ सेन्टर प्रयोगमा आइरहने अवस्थामा विद्यालय सञ्चालन गर्न सक्ने अवस्था नहुने सिद्धिचरण नगरपालिकाका सूचना अधिकारी इन्द्रराज राईले बताउनुभयो । उहाँले भिडभाड व्यवस्थापन, क्वरेण्टीन तथा अन्य विविध कारणले कसरी विद्यालय सञ्चालन गर्ने भन्नेमा अन्योल रहेको बताउनुभयो ।
सरकारले विद्यालय सञ्चालन गर्न सुरक्षा मापदण्ड र शिक्षण विधिको प्रयोग गर्ने विभिन्न विकल्पसहित अधिकार दिए पनि त्यसलाई कार्यान्वयन गर्न समस्या रहेको पालिकाका प्रतिनिधि बताउँछन् । ओखलढुङ्गाका अधिकांश विद्यालयमा यसअघि क्वरेण्टीन स्थापना गरिएको थियो ।
यीमध्ये चिशंखुगढीले क्वरेण्टीन हटाएर पठनपाठन सुरु गरेको छ । लिखु गाउँपालिकाको एक विद्यालयले पठनपाठन सुरु गरेको छ । अन्य पालिकामा भने विद्यालय सञ्चालनको सुरसारै छैन । ‘होल्डिङ सेन्टरदेखि अन्य समस्या छन्, दशैँ, तिहारपछि सुरु होला कि’, मानेभञ्ज्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी भट्टराईले भन्नुभयो । शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिकामा टोल टोलमा सिकाइ केन्द्र व्यवस्थापन गरेर विभिन्न विधिबाट पठनपाठन सुरु गर्न, आफ्ना सेवा क्षेत्रका विद्यार्थीको विवरण असोज १५ गतेभित्र पेस गर्न परिपत्र गरेको छ ।
सङ्घीय सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७ जारी गर्दै पालिकालाई विभिन्न विकल्पमा शिक्षण सिकाइ सुरु गर्न अधिकार दिए पनि भौतिक उपस्थिति बाहेक वैकल्पिक माध्यम प्रयोग गर्न सकिने अवस्था नभएपछि अन्योलता बढेको हो । ‘भौतिक उपस्थितिको विकल्प छैन, दुरी कायम गरेर सुरु गरिएको हो, सङ्क्रमणको जोखिम बढे बन्द गरिहाल्नुपर्छ’, कक्षा सुरु गरेको चिशंखुगढीको महेश्वर मावि भदौरेका प्रधानाध्यापक सन्तोष कार्कीले भन्नुभयो ।
सुनकोशी गाउँपालिकाले सङ्घीय सरकारले बनाएको निर्देशिका विद्यालयलाई पठाए पनि विद्यालय कसरी सुरु गर्ने केही तयारी गरेको छैन । विद्यालय नै पिच्छे बनाइएका क्वरेण्टीन यथावत् नै छन् । शिक्षा शाखा प्रमुख विवेक तामाङले निर्देशिका चाहिँ विद्यालयलाई पठाइएको र त्यो अध्ययन गरेर विद्यालयले कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने तय हुने बताउनुभयो । गाउँपालिकाले पनि पठनपाठन विद्यालयतिरै पन्छाएको छ ।
अन्य पालिकामा पनि पठनपाठनबारे ठोस निर्णय भएको छैन । कोरोना सङ्क्रमणको जोखिम र यसको अवस्था हेरेर विद्यालय सुरु गर्ने योजना बन्ने चम्पादेवी गाउँपालिकाको शिक्षा समितिका संयोजक वडाध्यक्ष उज्जन बुढाथोकीले बताउनुभयो । विद्यालय सञ्चालन, पठनपाठन तथा स्वास्थ्य सुरक्षाको विषयमा अभिभावक भने चिन्तित छन् ।
‘विद्यालय सञ्चालन नहुँदा बालबालिकाको पठनपाठन गर्ने बानी हटेको छ, बरालिने समस्या छ, सञ्चालन भए पठाउन पनि कोरोना सङ्क्रमणको जोखिम छ’, एक अभिभावक रमेश खत्रीले भन्नुभयो ।
(उज्यालो अनलाईनबाट)









