विराटनगर / विराटनरमा निर्माण भइरहेको प्रदेश १ को प्रदेशसभा भवनको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अन्य साना दलले विरोध गरिरहेका छन् ।
अस्थायी भवन निर्माणलाई लिएर उनीहरुले सरकारले रकम खर्चिने बाटो मात्रै पहिल्याएको आरोप लगाएका छन् । उनीहरुले राज्यकोषको रकम अनायशमै खर्चिने काम भएकोभन्दै विरोध जनाएका हुन् । स्थानीय संरचना निर्माण गर्न छाडेर अस्थायी संरचना निर्माण गरिएकोभन्दै तत्काल सच्याउन उनीहरुको माग छ ।

प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीले तत्कालका लागि अस्थायी रुपमा सदनको कार्य सञ्चालनका लागि भवन निर्माण प्रक्रिया अघि बढाएको बताए । ओखलढुंगाबाट नेकपाका सांसद मोहनकुमार खड्काले राजधानी र त्यसका संरचनालाई संकृण रुपमा हेर्न नहुने बताए । प्रदेशको बृहत विकासलाई विकेन्द्रीकृत गर्नु सकारात्मक भएको बताउँदै सांसद खड्काले बृहत विराट क्षेत्र अन्र्तगत कुनै पनि स्थानमा संरचना लैजानेमा कसैले असन्तुष्टि गर्न नहुने बताए ।
कोरोना महामारीकाबीच प्रदेश सरकारले जग्गा प्राप्त गरेर भवन निर्माण गर्न स्रोत जुटाउन र सबै व्यवस्थापन गर्न प्रदेश सरकार सक्षम नदेखिएको खड्काको भनाइ छ । यसअघि विराट बृहत क्षेत्र अन्तर्गत विराटनगर, इटहरी, सुन्दरहरैँचाको क्षेत्रफलमा भौतिक संरचना बनाउने सकिने गरी राजधानी घोषणा भएको थियो ।
प्रतिपक्ष दलका अनुसार राजधानीसँगै व्यवस्थापिका, कार्यपालिकाका संरचनाहरु एकैस्थानमा हुदाँ प्रदेश सरकारको सफलता हुनेछ । संरचना विकेन्द्रकृत गर्दै जादाँ त्यसको नकारात्मक अवस्थाहरु सृजना हुने दलको बुझाई छ । यद्यपी, राजधानी घोषणाका क्रममा प्रदेशको संसदले संरचनाहरु वृहत विराट क्षेत्र अन्तर्गत सुन्दरहरैँचा नगरपालिकाको गोठगाँउ, इटहरी, बूढीगंगा गाँउपालिका लगायत आसपासमा बनाउने प्रस्ताव पारित गरेको थियो ।
विराटनगरको देवकोटा चौकस्थित जिल्ला समन्वय समितिको जमिनमा हाल प्रदेशसभा भवन निर्माणे काम भइरहेको छ । प्रदेश सभाको नयाँ अस्थायी भवन हाल चल्दै आएको प्रदेशसभा परिषरभित्रै रहेको फुल बगैँचा मासेर निर्माण हुने भएको हो । जसका लागि धरानको स्वामी नारायण निर्माण सेवाले ६ महिनाभित्र काम सक्ने गरी जिम्मा लिएको छ । प्रदेश सरकारले विनियोजन गरेको ५ करोड रुपैयाँ मध्ये २ करोड ५१ लाख ८१ हजार रुपैयाको लागतमा भवन निर्माणको लागि असोज १ मा शिलान्यास भएको छ ।









