उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ४ नमूना चौकबाट लागुऔषध सहित तीन युवा पक्राउ परेका छन् ।
प्रहरी चौकी बसाहाबाट खटिएका विशेष प्रहरी टोलीले सप्तरीको फत्तेपुरबाट बेल्टारतर्फ आउँदै गरेका चौदण्डीगढी नगरपालिका–६ लाफा चोक बस्ने २० वर्षीय जुजुहाङ राई, चौनपा–७ साकेला चोक निबासी १५ वर्षीय सुजन परियार र सोही वडा बस्ने लामे चौरी निबासी १८ वर्षीय नविन परियारलाई लागुऔषधसहित शुक्रबार साँझ साढे ६ बजे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।
उनीहरुको साथबाट २१ ट्याब्लेट नाईट्राभेट बरामद गरेको डिएसपी गौतमले जानकारी दिए । पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय बेल्टारमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै विहिबार मात्रै एक महिला सहित ८ जना लागू औषध सहित पक्राउ परेको थियो । उनीहरुको साथबाट फेनारगन ९५ एम्पुल, डाईजोपाम ९५ एम्पुल र लुपिजेसिक ९५ एम्पुल समेत गरी कुल २८५ एम्पुल लागूऔषध बरामद गरेको थियो ।

तपाईको प्रतिक्रिया