उदयपुर । उदयपुरको कटारी नगरपालिकामा ११ लखथुम्कामा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ । शनिबार बिहान स्थानीय २५ वर्षे विनोद भन्ने रोशन मगर छिमेकी ५० वर्षीया डोरकुमारी राउतको हत्या गरेको आरोपमा पक्राउ परेको छ ।
पक्राउ परेका मगरले मृतककै घरमा आई वादविवाद गरी घरको आगनमा लछार पछार पारी आगनबाट तल गोठमा लडाई आफ्नै साथमा रहेको खुकुरीले राउतको शरिरको विभिन्न भागमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले बताए । उनका अनुसार हत्या गरी घटना स्थलबाट फरार रहेकोमा हातिसुँडे जङगलबाट खुकुरी सहित फेला पारी निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीमा ल्याई आवश्यक अनुसन्धान भईरहेको एसपी दाहाले बताए ।
उनले मृतकको शव पोष्टमार्टमको लागि कटारी अस्पताल ल्याउँदै गरेको पनि जानकारी दिए । कटारी नगरपालिका ११ का वडा अध्यक्ष सरोज बुढाथोकीले लागूऔषधमा लठ्ठिएर हत्या गरेका अनुमान गरिएको बताए ।
‘बिहान कटारी बजार गएर लागूऔषध सेवन गरेर फर्केको देखिन्छ, उनले भने, ‘लागूऔषधको बेहोसी मै हत्या गरेको हुनुपर्छ । प्रहरीको अनुसन्धानपछि नयाँ रहस्य आउँछ होला ।’









