लहान । सप्तरीका एसपी र डिएसपीसहित १७ जनालाई बिहीबार कोरोना संक्रमणको पुष्टि भएको छ । बिहीवार गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिका सदस्य समेत रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी र डिएसपीमा कोरोना संक्रमणको पुष्टि भएको सो अस्पतालले जनाएको छ ।
४४ वर्षिय एसपी भदौ १० गते जिल्ला प्रहरी कार्यालयमा सप्तरीमा हाजिर भएका हुन्। उनीहरु दुवै जनाले वुधवार स्वाव परिक्षणका लागि दिएका थिए । डिएसपीले घर जाने तयारीका लागि स्वाव परिक्षणका लागि दिएको थियो तर रिपोर्ट पोजेटिभ आएको आफै आश्चर्य ब्यक्त गरे। उनीहरुको कुनै लक्षण पनि नभएको र स्वास्थ्यमा कुनै समस्या पनि नदेखिएको बताइएको छ।
यस्तै गजेन्द्र नारायण सिंह अस्पतालका एक स्वास्थ्यकर्मी र एक सफाईकर्मी, सप्तरी कारागार सुरक्षार्थ खटिएका दुई जना सुरक्षाकर्मी, नौं जना कैदीबन्दी तथा राजविराज नगरपालिकाका बिभिन्न वडाका २ गरी १७ जनामा संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरी कारागारमा तिन दिनअघि पनि एक महिलासहित सात जना कैदीबन्दी र दुई जना सुरक्षाकर्मीमा कोरोना संक्रमणको पुष्टि भएको थियो । एक सय २५ जना राख्ने क्षमता भएको सो कारागारमा हाल ३ सय ३३ जनालाई कोचाकोच गरी राख्दा व्यवस्थापनमा चुनौतीसँगै कोरोनाको जोखिम समेत बढ्दै गएको जेलर सञ्जय कुमार रामले बताए ।
जिल्लामा हालसम्म कोरोनाबाट आठ जनाको मृत्यु भएको छ भने कुल संक्रमितको संख्या ९ सय ९१ पुगेको छ ।









