उदयपुर । उदयपुरमा शुक्रबार एक सुरक्षाकर्मी सहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिका ३ स्थित त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाको क्वारेन्टाइनमा खटिएका एक सुरक्षाकर्मी र एक भारतबाट आएर क्वारेन्टाइनमा बसेका युवकमा कोरोना संक्रमण देखिएको छ । 
नेपाल प्रहरीका ४० वर्षिय प्रहरी हब्लदार र त्रियुगा नगरपालिका ६ का भारतबाट आएर क्वारेन्टाइनमा बसेका २१ वर्षिय युवकमा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जनाए ।
उनीहरुलाई विपी कोइराला विज्ञान प्रतिष्ठानको प्रयोगशालाले संक्रमण पुष्टी गरेको हो । उनीहरुलाई उदयपुर कोभिड १९ अस्पताल चौदण्डीगढीमा पठाउने तयारी गरिएको सुवेदीले जानकारी दिए ।
सुरक्षाकर्मीको गाईघाटमा घरभाडा लिएर क्वारेन्टाइनमा बस्दै आएका थिए । सुरक्षाकर्मीको गाईघाट स्थित घर भाडा लिएको घर पनि शिल गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले बताए ।
उदयपुरमा संक्रमितको संख्या १ सय १६ जना पुगेको छ ।
यस्तै त्रियुगा नगरपालिका ११ स्थित शिवालय टोलका एक २४ वर्षिय युबकको गए राती मृत्यु भएको छ । दुई दिन अघि जिल्ला अस्पतालमा बेड भर्ना गरि उपचार गराउँदै आएकोमा उनको अवस्था कमजोर हुँदै शरिरमा अक्सिजनको कमी आउन थालेपछि थप उपचारको लागि बाहिर रेफर गरेर पठाएकोमा बाटैमा मृत्यु भएको थियो ।
कोरोना भाइरससँग मिल्दो जुल्दो लक्ष्यण, शरिरमा अक्सिजन कमी, सामान्य रुघाखोकी, निमोनिया, टाईफाईटका लक्ष्यण देखिएको जिल्ला अस्पतालले जानएको छ । उनको मृत्युलाई कोरोनाको आशंका समेत गरिएको छ । उनको मृत्युपछि पीसिआर परिक्षणका लागि नमुना स्वाब संकलन गरिएको जिल्ला अस्पतालले जनाएको छ ।
मृतक वैदेशिक रोजगार दुवईबाट फागुणमा मात्रै घर आएको उनका आफन्तले जनाएका छन् । केही साता अघि उदयपुरको त्रियुगा नगरपालिका४ बगाहाका एक शिक्षकको मृत्यु पश्चात कोरोना पुष्टि भएको थियो ।
हालसम्म त्रियुगा नगरपालिकामा ६९ जना, बेलका नगरपालिकामा ३३ जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकाका २ जना, उदयपुरगढी गाउँपालिकाका २ जना र ताप्ली गाउँपालिकाका ३ जना कोरोना संक्रमित पुगेका छन् ।
नयाँ संक्रमित सहित उदयपुर कोभिड १९ अस्पतालमा ५ जना र होम आइसोलेशनमा एक बालिकाको उपचार भईरहेको छ ।









