उदयपुर । अटोमा तयारी अवस्थामा रहेका काठ ओसार पसार गर्ने एक युवालाई इलाका प्रहरी कार्यालय कटारी प्रहरीले पक्राउ गरेको छ । कटारी नगरपालिका ४ कान्छि बजारबाट स १ ह १६७८ नम्बरको अटोबाट अवैध काठ सहित १९ बर्षिय युवा प्रदिप दनुवारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले जिल्लाभित्र रहेको बिभिन्न प्राकृतिक स्रोत साधनहरुको अबैध रुपमा हुने चोरी निकासी नियन्त्रण गर्ने अभियान अन्तर्गत बुधबार दिउँसो ईप्रका कटारीबाट खटिएको बिशेष प्रहरी टोलीले अटोलाई चेक जाँच गर्दा अबैध सखुवा जातको काठको तयारी झ्याल ढोकाको चौकस सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालले जानकारी दिए । दनुवारको साथबाट बरामद काठ ११.५ क्यु. फिट रहेको र अन्दाजी पचास हजार मूल्य बराबरको रहेको एसपी दाहालले बताए । पक्राउ परेका दनुवार समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि डिभिजन वनकार्यालय त्रिबेणी उदयपुरको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया