उदयपुर । उदयपुरमा पहिलो पटक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखिएको छ । त्रियुगा नगरपालिकाको मोतिगडा क्वारेन्टाइनमा खटिएका एक सिनियर अहेबमा कोरोना सरेको हो । त्रियुगा नगरपालिका १ का ४८ वर्षिय पुरुष स्वास्थ्यकर्मीमा कोरोना सरेको हो ।
विगत तीन महिनादेखि रातको समयमा खट्दै आएका उनको स्वाव परिक्षण गर्दा विहिबार कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । उनलाई क्वारेन्टाइनमा बस्न आएकाहरुबाट नै सरेको हुन सक्ने अनुमान गरिएको छ ।
स्वास्थ्य चौकी जोगिदहमा दरबन्दी भई हाल क्वारेन्टाइनमा रातीको समयमा खट्दै आएका थिए । उनी उदयपुरको पहिलो कारोना संक्रमित स्वास्थ्यकर्मी हुन् ।
कोरोना विरुद्धको लडाईमा अग्रपंक्तीमा खटिएका स्वास्थ्यकर्मीहरु जोखिममा रहेको बेला उदयपुरको हकमा उनी पहिलो संक्रमित बन्न पुगेका छन् ।
उनी संक्रमित भएपछि उनको परिवारको कन्ट्राक ट्रेसिङ गरिएको त्रियुगा नगर स्वास्थ्य उप संयोजक अवधनारायण चौधरीले जानकारी दिए ।
यसअघि उदयपुरमा एक प्रहरी, एक लघुवित्तमा कार्यरत कर्मचारी, एक सञ्चारकर्मी पनि कोरोना संक्रमण देखिएको थियो । प्रहरी जवान सुनसरीबाट सरुवा भई उदयपुरका आएर क्वारेन्टाइनमा बसेर परिक्षण गर्दा पोजेटिभ देखिएको थियो । उनले अन्य प्रहरीमा सार्ने अवस्था नभएकाले हालसम्म अन्यलाई देखिएको छैन । यस्तै बेलका नगरपालिकाका लघुवित्तमा कार्यरत एक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको थियो । यस्तै एक सञ्चारकर्मीमा देखिएकोमा उनी पनि निको भईसकेका छन् ।
उदयपुरको एक शिक्षकको भने कोरोनाका कारण मृत्यु भइसकेको छ । मोतिगडा घर भएका शिक्षक उपचारको क्रममा काठमाडौं गएका थिए । उतै परिक्षणबाट संक्रमण पुष्टि भएको भएको थियो । उनको परिवार, उपचार भएको उदयपुरको कुनै पनि स्वास्थ्य संस्थामा संक्रमण नदेखिएकाले अस्पतालमै संक्रमण सरेको हुनसक्ने अनुमान गरिएको छ ।
स्वास्थ्यकर्मीसहित उदयपुरमा हालसम्म १ सय १२ जनामा कोरोना संक्रमण भएको छ । त्यसमध्ये एकजना बालिका होम आइसोलेशनमा छन् । कटारीका एकजना बेल्टार आइसोलेशनमा छन् । भने अहिले संक्रमित देखिएका स्वास्थ्यकर्मीलाई पनि बेल्टार आइसोलेशनमै लैजाने तयारी भईरहेको छ । अहिलेसम्म १ सय १० जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।









