उदयपुर । उदयपुरका एक व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । त्रियुगा नगरपालिका ४ मिलन चोक सार्की टोलका ५२ वर्षिय पुरुषको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो ।
छाला रोगको उपचारको लागि भदौं ३ गते जिल्ला अस्पताल बोक्से गएका थिए । चेक जाँच गरेर उनी घर फर्किएका थिए । भदौ ४ गते उनले त्रियुगा नगरपालिका–३ स्थित राजेश हेल्थकेयर सेन्टर प्रालि मोतिगडामा रगत परीक्षण गराएको र ६ गते १०० डिग्री भन्दा बढी ज्वरो आएपछि दिउँसो ३ बजे त्यही भर्ना भएको थियो । भर्ना भएपनि विपी नघटेको, ज्वरो आउने क्रम नरोकिएपछि भदौं ८ गते साँझ काठमाडौं एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौं गएको थियो ।
उनलाई निमोनियाको समस्या रहेको परिवारका सदस्यले बताएका छन् । पारिवारिक स्रोतका अनुसार मृतकको ७५ प्रतिशत कलेजो ड्यामेज भएको थियो भने फोक्सोमा समस्या देखिएको थियो । उनको भदौं ९ गते राति साढे एक बजे उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महराजगंजमा मृत्यु भएको थियो । मृतक त्रियुगा नगरपालिका ७ कौवाईमा असारबाट तवल भत्ता पाउने गरी लिम्चुङबुङ गाउँपालिकाबाट सरुवा भएर आएका थिए ।
मृतकको कोरोना रिपोर्ट पोजिटिभ बारे फोनमार्फत जानकारी आएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । स्वास्थ्य सेवा विभागबाट आधिकारिक जानकारी आएको छैन तर, पनि त्रियुगा नगरपालिका नगर स्वास्थ्य शाखालाई कन्ट्राक्ट ट्रेसिङको लागि जानकारी गराई सकिएको बताए ।
अहिले जिल्ला अस्पताल बोक्सेका डाक्टरलाई सेल्फ आइसोलेनमा राखिएको अस्पताल स्रोतले जनाएको छ । भने राजेश हेल्थ केयर सेन्टर प्रा.लि.का स्वास्थ्यकर्मी लगायत मृतकका सम्पर्कमा रहेका अन्य व्यक्तिहरुलाई होम क्वारेन्टाइनको लागि आग्रह गरिएको प्रमुख सुवेदीले जानकारी दिए ।
मृतकको शव काठमाडौंमै नेपाली सेनाले व्यवस्थापन गर्ने छ ।
संक्रमितको मृत्युले गर्दा त्रियुगा नगरपालिका ३ का मोतिगडा, मिलन चोक, सार्की टोल, बगहा लगायत गाउँलेहरु त्रसित देखिन्छन् ।









