राजेन्द्र महतो, लहान । सिरहाको सुखिपुर नगरपालिकाका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा शुक्रबार ७ः३० बजे मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप कणेलले जानकारी दिए ।
गत भदौ ६ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका उनलाई ७ गते कोरोना पोजेटिभ देखिएको थियो । उनलाई कोभिड अस्पतालमा भर्ना गरेर उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
मृतकमा उच्च रक्तचाप भएको र २० वर्षअघि क्षयरोग भएर १८ महिना औषधि सेवन गरेको स्वास्थ हिष्ट्री रहेको बताइएको छ । मृतकको शव प्रतिष्ठानमै रहेको र शुक्रबार नेपाली सेनाको टोलीले सुखिपुर ल्याउने प्रमुख जिल्ला अधिकारी कणेलले बताए । योसंगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।









