उदयपुर । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत उदयपुर क्षेत्र नम्बर २ मा फुसको छाना भएका घरमा बसोबास गर्दै आएका १ हजार सात सय ३७ घरको छानो फेरिने भएको छ । सघन शहरी तथा भवन निर्माण योजना अन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत १ हजार सात सय ३७ घरका लागि जस्ता दिने भएपछि घरको छाना फेरिने भएको हो ।

फाइल फोटो

‘निकट भविष्यमा क्षेत्र नम्बर २ मा कुनै पनि फुसको छाना भएको घर रहने छैन । त्यसका लागि पहिलो चरणमा १ हजार सात सय ३७ परिवारको छानो फेर्ने योजना अघि सारेका छौं,’ संघीय सांसद सुरेश कुमार राई (हिमाल) ले भने, ‘असहाय, गरिब परिवारले सुख, शान्तिपूर्ण तथा सहज रुपमा जीवनयापन गर्न सकुन्, असहायले पनि व्यवस्थित र सुरक्षित घर पाउन भन्ने उद्देश्य हाम्रो छ । सोही अनुसार लाभग्राही छनौट गर्छौं ।’उदयपुर क्षेत्र नम्बर २ मा मात्रै पाँच हजार भन्दा बढी खर, फुसले छाएको घर रहेको अनुमान छ । उदयपुर क्षेत्र नम्बर २ एक नगरपालिका सहित चार गाउँपालिका पर्दछ । त्यसमा चालु आर्थिक वर्षमा कटारी नगरपालिकामा ४ सय ४३ घर, उदयपुरगढी गाउँपालिकामा ३ सय ८३ घर, ताप्ली गाउँपालिकामा २ सय ९१ घर, रौतामाई गाउँपालिकामा ३ सय ४४ घर र लिम्चुङबुङ गाउँपालिकामा २ सय ७६ घरको छानामा जस्ता पाता लगाउने कार्यक्रम छ । यस अघि लिम्चुङबुङ गाउँपालिकामा २५ वटा घरको छानोको काम क्रमागत रुपमा काम भईरहेको छ ।
कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी) का अनुसार कार्यविधि अनुसार निवेदन लिएर सुरक्षित आवास कार्यक्रमको लाभग्राही छनौट गरिने बताए । गरिबीको रेखामुनी रहेका पराल, खर वा छ्वालीको छाना भएका घर परिवारलाई जस्ता पाताको छानामुनी ल्याउने उद्देश्यले सरकारले सुरक्षित आवास कार्यक्रम सञ्चालन गरेको हो ।
सुरक्षित नागरिक आवास कार्यक्रमका लागि छनौट भएका परिवारलाई टहरा र छाना बनाउन ५० हजार रुपैयाँ उपलब्ध गराउने लक्ष्य सरकारको छ । उनीहरुलाई पहिलो किस्तामा ३० हजार रुपैयाँ र कार्य प्रगतिका आधारमा बाँकी दोस्रो किस्तामा बैंक मार्फत भुक्तानी हुने सघन शहरी विकास तथा भवन निर्माण कार्यालयका ईन्जिनियर ब्रहमदेव चौधरीले बताए ।

तपाईको प्रतिक्रिया