कोभिड महामारीसँग दुनियाँ भिडिरहेको वेला नेपाली समाज भने स्वास्थ्यकर्मीसँग भिड्न थालेको छ । विदेशमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सम्मान गरिएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गर्ने समाज नै आफ्नै टोलबाट भने स्वास्थ्यकर्मीलाई लखेट्न अघि सरेको छ ।
चितवनका डा। विश्वबन्धु बगालेलाई अपमानित गरिएको घटना सेलाउन नपाउँदै राजधानीको बानेश्वरमा डाक्टर र अन्य स्वास्थ्यकर्मी बसेको होस्टल घेराउ गरिएको छ । बानेश्वरको सिभिल अस्पतालका स्वास्थ्यकर्मीहरूलाई राखिएको लर्ड बुद्ध होस्टल स्थानीयले घेराउ गरेका थिए । जब कि ती स्वास्थ्यकर्मी संक्रमित पनि होइनन् ।
‘उहाँहरू संक्रमित होइन । आइसोलेसनका लागि होस्टलमा बस्ने व्यवस्था गरिएको हो,’ अस्पतालका निर्देशक डा। दीर्घराज आरसीको प्रश्न छ, ‘संक्रमित नै भए पनि स्वास्थ्यकर्मी वा अन्य कुनै पनि नागरिकलाई त्यस्तो दुर्व्यवहार गर्न मिल्दैन । जनताले नै यस्तो अपमान गर्ने हो भने भोलि आफ्नो ज्यान जोखिममा राखेर उपचारमा खटिने स्वास्थ्यकर्मीको मनोबल कस्तो हुन्छ रु’
टोल सुधार समितिको अगुवाइमा संगठित समूहले शनिबार बिहानै होस्टल घेराउ गरेको थियो । ‘आमसर्वसाधारण पनि होइन, टोल विकास समितिको अगुवाइमा नै घेराउ गर्ने टोली आयो, मलाई दुव्र्यवहार गरियो, डाक्टरलाई तुरुन्त निकाल भनेर हुलदंगा गरे,’ होस्टल सञ्चालक रोहित रानाले सञ्चारकर्मीहरूसँग भने ।.jpg'_'.2020-08-23.jpg)
स्वास्थ्यकर्मीहरू ४ भदौदेखि सो होस्टलमा बस्दै आएका छन् । त्यसको खबर थाहा पाएपछि टोल विकास समिति संगठित रूपमा विरोधमा उत्रिएको थियो । होस्टलमा तोडफोड हुने जोखिम बढेपछि बानेश्वरबाट प्रहरी बोलाउनुपरेको थियो । स्वास्थ्यकर्मीलाई गलहत्याउन आएका स्थानीय बासिन्दाले आफ्नो टोलको नाम भने ‘बलभद्र मार्ग’ राखेका छन् । प्रहरी आएपछि भने स्थानीय फर्किएका थिए ।
स्वास्थ्यकर्मी होस्टलभित्र बस्दा टोलमा कोरोना फैलिन्छ भन्ने टोलवासीहरू विरोध गर्न भने हुल बाँधेर आएका थिए । टोलीमा बालबालिका र वृद्ध मात्र होइन, युवाहरू पनि थिए । टोल सुधार समितिका अध्यक्ष सुदर्शन गौतम र सचिव दिनेश खड्काको नेतृत्वमा आएको टोलीले निषेधाज्ञा तोडेको र हुलहुज्जत गरेको प्रहरीको भनाइ छ । तर, सडकमा हिँडेका एक–दुईजनालाई उठबस खेलाउने प्रहरीले त्यत्रो हुलहुज्जत गर्नेहरूलाई भने कुनै कारबाही गरेको छैन ।
बानेश्वरको घटनामा पनि प्रहरीले छानबिन थालेको बताएको छ । ‘स्वास्थ्यकर्मीलाई दुव्र्यवहार भएमा पक्राउ गरी कारबाही गरिनेछ । निषेधाज्ञा तोड्न पाइँदैन । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा कुनै पनि नागरिकलाई दुव्र्यवहार गर्न पाइँदैन,’ काठमाडौं परिसरका एसएसपी श्यामलाल ज्ञवालीले भने ।
बानेश्वर र पछिल्लो समयमा देशका विभिन्न भागमा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारप्रति नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्कीले चिन्ता व्यक्त गरेका छन् । ‘कोभिड उपचारमा जुटिरहेका स्वास्थ्यकर्मीप्रति सम्मान र सद्भाव झन् बढ्नुपर्ने हो, तर हामीकहाँ झन् अपमान गर्ने काम भइरहेको छ । यो निकै नै चिन्ताको विषय हो, यस्तो घटनाको जति निन्दा गरे पनि कम हुन्छ,’ उनले भने ।
संखुवासभामा क्याम्पस प्रमुखको नेतृत्वमा आइसोलेसन वार्ड तोडफोड , विराटनगरमा आइसोलेसन कक्षमा डाक्टरमाथि हातपात , वीरगन्जको छपकैयामा डाक्टरविरुद्ध नाराबाजी, अस्पतालमा तोडफोड, चितवनको भरतपुरमा डाक्टरलाई अपहेलित गर्दै घरमा स्टिकर टाँस्ने प्रयास, चितवनको रत्ननगरमा स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीलाई घरमा बस्न दिइएन, जाजरकोटमा स्वास्थ्य केन्द्रका डाक्टरमाथि आक्रमण, नागढुंगामामा टोले स्वयंसेवीको गुन्डागर्दी, डाक्टरको हुर्मत लिइयो लगायतका घटनाले समाज कता जाँदै छ भन्ने प्रष्ट देखिन्छ । कथन कदाचित ति समाजका अगुवा कोरोना संक्रमित भयो भने उपचार कस्ले गर्ने यो प्रश्न पनि खडा भएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाज छापेको छ ।









