राजेन्द्र महतो, लहान । सिरहामा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यही भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका वडा नं। ४ का ६८ वर्षीय पुरुषमा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।
उनका अनुसार ती पुरुषको भदौ २ गते गाउँमै स्वाब संकलन गरिएको थियो । उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।
स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उनको भदौ ३ गते मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए ।
उनको कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ्गको काम शुरु गरिएको उनले बताए ।
योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरिक्षक सहित ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । इलाका प्रहरी कार्यालय लहानका २२ जना प्रहरी, ८ जना थुनुवा र एक जना कारागार पठाइएकामा पनि कोरोना संक्रमण देखिएको थियो ।
पशुपति आदर्श माध्यमिक विद्यालयको क्वारेन्टाइनमा एक जना, धनगढीमाई नगरपालिका स्थित नयनपुर अस्पतालका दुई जना स्वास्थ्यकर्मी र दुई जना सर्वसाधारण गरी चार जना तथा मिर्चैया नगरपालिकाका चार जना कर्मचारी र गोलबजार नगरपालिकाका १ जना स्वास्थ्यकर्मी र एक जना कर्मचारी गरि २ जना जम्मा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । जिल्लाभरमा करिब १३९ जना संक्रमित रहेका छन ।

तपाईको प्रतिक्रिया