उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । त्रियुगा नगरपालिका ३ का ३६ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित गत साउन २९ गते दक्षिण कोरिया हुँदै त्रियुगा नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बस्दै आएका थिए । संक्रमितलाई चौदण्डीगढी नगरपालिका ६ स्थित सातधारे उदयपुर कोडिभ १९ अस्पतालमा उपचारको लागि पठाइएको छ ।
यस्तै विहिबार तीन जनामा संक्रमण देखिएको मध्ये दुई जना उदयपुर कोभिड १९ अस्पताल सातधारेमा लगिएको छ भने त्रियुगा नगरपालिका १० की ११ वर्षिय बालिकालाई होम आइसोलेनमै राखेर उपचार भईरहेको छ ।
सरकारले होम आइसोलेशनमा पनि बस्न पाउने स्वास्थ्य निर्देशिका बमोजिम परिवारको जिम्मेबारीमा रहने गरी होम आइसोलेशनमा बस्न अनुमति दिइएको त्रियुगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अवध नारायण चौधरीले जानकारी दिए ।
उदयपुरमा ३१ महिला सहित १११ कोरोना संक्रमित पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
जिल्लामा अहिलेसम्म १ हजार ७ सय २७ महिला र ४ हजार ९ सय ५५ पुरुष गरी ६ हजार ६ सय ८२ जनाको स्वाब संकलन गरेको मध्ये १११ जनामा संक्रमण देखिएको छ । यस्तै स्वाब संकलित मध्ये २ सय ६९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
हालसम्म बेलका नगरपालिकामा ३२ जना, त्रियुगा नगरपालिकामा ६५ जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकामा २ जना, उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकामा अहिले निशेधज्ञा जारी छ भने उदयपुरगढी गाउँपालिकाले पनि लकडाउन गरेको छ ।

तपाईको प्रतिक्रिया