उदयपुर । जिल्लाको त्रियुगा नगरपालिकामा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमित त्रियुगा नगरपालिका १ जोगिदहका ५२ वर्षिय पुरुष हुन् । उनी साउन २५ गते मलेसियाबाट नेपाल आएर त्रियुगा नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए । त्रियुगा नगरपालिकाको क्वारेन्टाइनमा रहेका ३९ जनामध्ये १ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
यस्तै मंगलबार विहान बेलका नगरपालिका २ का ४२ वर्षिय एक पुरुषको रिपोर्ट पनि पोजिटिभ आएको थियो । दुवै संक्रमितलाई उपचारको चौदण्डीगढी नगरपालिका ६ सातघारेमा निर्मित उदयपुर कोभिड १९ अस्पतालको आइसोलेशनमा पठाइएको छ ।
उदयपुरमा ३० महिला सहित १०७ कोरोना संक्रमित पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
अहिलेसम्म सामुदायमा कोरोना फैलिइसकेको छ । अहिलेसम्म कहाँबाट कोरोना फैलियो भन्ने कन्ट्राक्ट ट्रेसिङ नभएका ३० जनाभन्दा बढी रहेको स्वास्थ्य प्रमुख सुवेदीले जनाए । बेलका नगरपालिकामा एक वडाध्यक्ष सहित १७ जना, त्रियुगा नगरपालिकामा मालपोत कार्यालयका कर्मचारी सहित ११ जना र कटारी नगरपालिकामा श्रीमान श्रीमति सहित दुई जना र ताप्लीमा एक महिलामा कहाँबाट संक्रमण फैलिएको हो भन्ने आधार भेटिएको छैन् । कटारी र ताप्लीको उपचारको क्रममा कोरोना पोजिटिभ भेटिएको थियो ।
हालसम्म बेलका नगरपालिकामा ३२ जना, त्रियुगा नगरपालिकामा ६१ जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकामा २ जना, उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकामा अहिले निशेधज्ञा जारी छ भने उदयपुरगढी गाउँपालिकाले पनि लकडाउन गरेको छ ।

तपाईको प्रतिक्रिया