राजेन्द्र महतो, लहान । सिरहाको गोलबजार नगरपालिका ९ स्थित पूर्वपश्चिम राजमार्ग छेउमा रहेको वन बुट्यान भएको करोडौं पर्ने सार्वजनिक जग्गा अतिक्रमण भएपछि त्यस विरुद्ध विहिबार राजमार्ग अवरुद्ध गरी प्रर्दशन भएको छ । 
राजमार्ग छेउमा रहेको वन बुट्यान भएको करोडौं पर्ने सार्वजनिक जग्गा भूमाफियाले राजनीतिक दलका नेताहरूको सहयोगमा निजीकरण गरिएको विरोधमा स्थानीय बासिन्दाहरुले प्रदर्शन गरेका हुन् ।
स्थानीयहरुले राजमार्ग अवरुद्ध पारेर सो जग्गामा नेपालको राष्ट्रिय झण्डा गाडेका हुन् । राजमार्ग अवरुद्ध गरी हड्पेको वन बुट्यान सरकारी जग्गा भुमाफियाले निजीकरण गर्न पाउँदैन, सार्वजनिक सम्पतिको संरक्षण गरौं लगायत नारा सहित प्रदर्शन गरेका थिए । सिरहा मालपोत कार्यालयकै प्रमुखको मिलोमतोमा भुमाफियाले करोडौं पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गराएको स्थानीयको भनाई छ ।
जग्गा हड्पिनेहरुले कर्मचारीहरुलाई मोटो रकमको प्रलोभनमा पारी वन बुट्यान निजी जग्गा बनाएकोले कर्मचारीमाथि छानविन गरी कारबाही नभए कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ । यो जग्गा व्यक्तिको नाममा पास गर्न करोडौंको चलखेल भएको र केन्द्रिय नेताहरुको संलग्नता रहेको स्थानीयहरुको दावी छ । रकमको चलखेलका कारण प्रशासन भुमाफियाकै पक्षमा उभिएको उनीहरुको आरोप छ ।
अहिले कसको नाममा छ जग्गा ?
सिरहाको गोलबजार नपा ९ चोहर्वास्थित २ विगहा ९ कठ्ठा ३ धुर जग्गा अहिले लहानकी बिना कुमारी चौधरी र कृष्णपुरकी अनिता देवी साहको नाममा दर्ता छ । मालपोत कार्यालय सिरहाले उनी दुबै जनाको संयुक्त नाममा जग्गा कायम गरेको रेकर्ड फेला परेको छ ।
उक्त जग्गामा वन वुट्यान समेत रहेको खुलेको छ । केही वर्ष अगाडी सो जग्गामा भएको वन फडानी गर्न लाग्दा वन कार्यालय लहानले जेसिबी नियन्त्रणमा लिएको थियो । मुद्दा पनि चलाइयो । त्यसपछि भुमाफिया मौन बसे । अहिले फेरी जग्गा खाली गर्न खोज्दा स्थानीय आक्रोसित बनेका छन् ।
उक्त जग्गा भुमाफियाहरुले किर्तेगरी आफ्नो नाममा ल्याएको थाहा पाएपछि गोलबजार नगरपालीकाले जिल्ला अदालतमा किर्ते मुद्दा दर्ता गराएको थियो । तर जिल्ला अदालत सिरहाका १ नम्वर इजलासका न्यायाधीश योगेन्द्र प्रसाद साहको इजलासले विपक्षीकै नाममा चलन चल्ती कायम गरिदिए ।









