लहान, साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नगर क्षेत्रमा भएका विकास निर्माणको भुक्तानी दिन उनका छोरा सन्तकुमार मण्डललाई लगाएर पाँच लाख रुपैयाँ घुस लिएको अख्तियारले फेलापारेपछि मेयर र उनका छोरा सन्तकुमार मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।
पक्राउ परेका छोरामाथि छानबिन गर्दा मेयर मण्डलको पनि संलग्नता रहेको फेलापारेको अख्तियारले जनाएको छ । सोही कारण उनलाई पक्रन वारेन्ट जारी गरेको थियो । तर, मेयर मण्डल भने भूमिगत भएका छन् ।
नगर प्रमुख मण्डल र निजको छोराले मिलेमतो गरी Detailed Project Report (DPR) निर्माण कार्य सम्पन्न गरेको कामको भुक्तानीको लागि काटिएको विभिन्न चेकसमेत नदिई चेक दिन घुस कमिशन माग गरी सेवाग्राहीले नियमानुसार पाउनुपर्ने भुक्तानीको चेक नियन्त्रणमा राखी दुःख हैरानी दिई ५ लाख घुस कमिशन माग गरेको अख्तिायरको विज्ञप्तीमा जनाएको छ । अख्तियारद्वारा जारी विज्ञप्तिअनुसार उनीविरुद्ध विशेष अदालतमा पाँच लाख बिगो कायम गरी मुद्दा दर्ता भएको छ । साथै अख्तियारले बिगो जरिवानासहित भ्रष्टाचार निवारण ऐनअनुसार ६ महिनादेखि डेढ वर्षसम्मको कैद मागदाबी गरेको छ । मेयर मण्डलका छोरा सन्तकुमारलाई पनि सोही बराबरको कैदको माग दाबी गरिएको अख्तियारले जनाएको छ । गत असार ३१ गते लहान नगरपालिका– २२ स्थित एक पेट्रोल पम्पबाट सन्तकुमारले घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया