राजेन्द्र महतो, लहान । सिरहाको मिर्चैया नगरपालिका पनि आर्थिक अनियमितताको सबालमा अछुतो रहन सकेन् । नगरपालिकामा आर्थिक अनियमितता, भ्रष्टाचार र शक्ति दुरुपयोग भएको भन्दै स्थानीयहरुले पारदर्शीताको माग गरेको छ ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि मिर्चैया नगरपालिकामा व्यापाक भ्रष्टाचार भएको भन्दै खर्च विवरण पुर्ण रुपमा पारदर्शी गर्न जनता समाजवादी पार्टीका युवा नेता रामेश्वर यादवले माग गरेका छन् । नगरपालिकाले गरेको खर्च विवरण संक्षिप्त रुपमा मात्र सार्वजनिक गरेको छ ।
यो पारदर्शी होईन, कतै न कतै यसमा भ्रष्टाचार भएको स्थानीय युवा नेता यादवको आरोप रहेको छ ।
नगरपालिकाले हरहिसाब पुर्ण रुपमा सार्वजनिक नगरेर अनियमितता लुकाउन खोजेको स्थानीयहरुको आरोप रहेको छ ।
महामारीको बेला स्थानीय तहहरुमा अनियमितता भइरहेको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय सिरहा, जिल्ला समन्वय समिती सिरहा लगायतका सरोकारवालाहरुको संयुक्त बैठकले सिरहाका स्थानीय तहहरुले खर्चको विवरण सार्वजनिक गरेको हो । तर, सार्वजनिक गरिएको खर्च विवरण हेर्दा सबैजसो स्थानीय तहमा व्यापक अनियमितता भएको देखिन्छ ।
सोही अनुरुप मिर्चैया नगरपालिकाले १ करोड ७२ लाख ८१ हजार ७७ रुपैयाँको खर्च विवरण सार्वजनिक गरेका थिए । सार्वजनिक विवरण देख्दा अनियमितता प्रष्ट देखिएको भन्दै नेता रामेश्वर यादवले सम्बन्धित निकायले छानविन गर्नुपर्ने माग गरेका छन । युवा नेता यादवले स्वास्थ्यकर्मीको भत्ता त ठिकै छ, तर कर्मचारीलाई मनमौजी तरिकाले बाँडिएको छ, यो ऐन विपरीत हो, यसको छानविन हुनुपर्छ । नगरपालिकाले अनियमितता लुकाउन एकमुष्ट विवरण बुझाएपनि शिर्षकसहित विवरण सार्वजनिक नगरेको भन्दै शीघ्र सार्वजनिकको माग गरेका छन। पारदर्शीता र निगरानी सबैको अधिकार रहेको भन्दै उनले यसको लागि सबैलाई खुलेर बोल्न अपिल समेत गरेका छन् ।
स्थानीय तहहरुले गरेको खर्च विवरण संक्षिप्तमा सार्वजनिकीकरण गरेपछि कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका नाममा स्थानीय तहहरुले व्यापक भ्रष्टाचार गरेको आवाज उठिरहेको छ । देशमा संघीयता आएसँगै भ्रष्टाचारको घट्नामा पनि वृद्धि भएको छ।

तपाईको प्रतिक्रिया