उदयपुर । जिल्लाको दुई नगरपालिकामा मात्रै कोरोना संक्रमितको संख्या मंगलबार १५ जना थपे संगै उदयपुरमा उच्च सतर्कता अपनाई निशेधज्ञा जारी गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैंठकले त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकामा साउन २८ गते राति १२ बजेदेखि भदौं ७ गतेसम्मका लागि निशेधज्ञा जारी गरेको छ । 
संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम साउन २८ गते राति १२ बजेदेखि भदौं ७ गतेसम्म निशेधज्ञा जारी गरेको प्रजिअ पाण्डेले जानकारी दिए ।
यी नगरपालिकामा अति आवश्यक काम बाहेको अन्य कामलाई निशेध गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए ।
अति आवश्यक स्वास्थ सेवा, बिधुत, संचार, खानेपानी, बैंक, दूध, पानी, ग्यास, एम्बुलेन्स बाहेक अन्य सवारीसाधनलाई आवतजावतमा ठप्प गरिएको प्रजिअ पाण्डेले जानकारी दिए । खाद्यन्न पसल विहान ९ बजेदेखि १२ बजेसम्म मात्रै खुल्ला रहने प्रजिअ पाण्डेले बताए ।
त्रियुगा नगरपालिकामा मालपोत कार्यालय उदयपुरका ६ जना कर्मचारी र यसअघि संक्रमित मालपोतकै कर्मचारीका परिवारका २ जना गरी ८ जना र बेलका नगरपालिकामा एकै परिवारका ४ जना सहित ७ जनामा कोरोना संक्रमणदेखिएपछि निशेधज्ञा जारी गरिएको प्रजिअ पाण्डेले जानकारी दिए ।
योसँगै जिल्लामा संक्रमितको संख्या एक सय चार पुगेको छ । हालसम्ममा समुदाय स्तरसम्म कोरोना संक्रमण देखिएकाले कोरोना सर्तकता उच्च रुपले अपनाउनु पर्ने र सुरक्षा कडाई गर्नु पर्ने अवस्था आएको हो । प्रशासनले आज १५ जनामा संक्रमण देखिए लगतै जिल्ला कमाण्ड पोष्टको बैठक बसि कोरोना संक्रमण नियन्त्रणका लागी प्रभावकारी कदम चाल्नु पर्ने निर्णय गर्नुका साथै लकडाउनको घोषणा गरेको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी भिमबहादुर दाहाललले प्रहरीको सुरक्षा कडाई विगत झैँ कडाई हुने बताए । अत्यवश्यक काम बाहेक बाहिर ननिस्कन र हिडडुल नगर्न सर्वसधरण नागरिकलाई अह्वान गर्दै उनले लकडाउनको अवज्ञा गर्नेलाई कारबाही गरिने बताए । जिल्लामा कोरोना संक्रमणको स्थिती सम्वेदनशिल अवस्थामा रहेकाले नागरिकहरु आफै पनि उच्च सतर्क र सुरक्षा अपनाउनु पर्ने बताए ।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले कोरोना संक्रमणको अवस्था उदयपुरमा भयावह बन्न सक्ने प्रति सचेत गराउदै सतर्कताप्रति लापर्वाही नगर्न आग्रह गरेका छन् । संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङ गरी परिक्षण गरिने साथै संकाश्पद ठाउँहरुमा पनि परिक्षणको दायरा बढाईने सुवेदीले बताए ।









