उदयपुर । उदयपुरमा १७ हजार घुस मागेको आरोपमा वनका दुई जना कर्मचारीलाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाए छन् । पक्राउ पर्नेमा सव डिभिजन वन कार्यालय लालबजारका सहायक वन अधिकृत विनोद साह र सव डिभिजन वन कार्यालय मैनामैनीका वन रक्षक शैलेन्द्र झा रहेका छन् ।
उनीहरुलाई बेलका नगरपालिका ३ भाटेपुलका स्थानीयहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् भने घुस मागेको आरोपमा अन्य चार जना कर्मचारी फरार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिएका छन् ।
कोशीटप्पुमा लालबजार र मैनामैनीको संयुक्त वन गस्ती टोलीले अवैध उतिस र चिलाउने काठ स्थानीयहरुले काटिरहेको अवस्थामा फेला परेको थियो । गस्ती टोलीले पक्राउ नगरी १७ हजार लिएर छाडने भएपछि स्थानीयहरुले घेरा हानेर उनीहरुलाई पक्राउ गरेको जानकारी आएको एसपी दाहालले बताए ।
पक्राउ परेकाहरुबाट १७ हजार घुस मागेको भनेर सयौं स्थानीयहरुले वन गस्ती टोलीलाई घेरा हानेर २ जनालाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय रामपुरलाई खबर गरेको एसपी दाहालले जानकारी दिए । अन्य ४ जना फरार रहेको एसपी दाहालले बताए । एसपीले भने,‘ पैसा बरामद भएको छैन्, अन्य कर्मचारीको बारेमा जानकारी आएको छैन् ।’ पक्राउ परेकाहरुबाट अनुसन्धान शुरु गरिएको एसपी दाहालले बताए ।
डिभिजन वन कार्यालय उदयपुरका सूचना अधिकारी जागेश्वर साहका अनुसार २ जना वन कर्मचारी पक्राउ परेको स्वीकार गरेका छन् । कोशीटप्पु क्षेत्रमा अवैध काठ तस्कर हुने गरेको सूचनाका आधारमा त्यस क्षेत्रमा सव डिभिजन वन कार्यालय लालबजार र सव डिभिजन वन कार्यालय मैनामैनीको संयुक्त गस्ती टोली गएको जानकारी आएको छ । साहले भने, ‘वन कर्मचारी के कुन विषयमा पक्राउ परेको हो ? त्यस विषयमा आधिकारिक जानकारी आएको छैन् ।’

तपाईको प्रतिक्रिया