उदयपुर । उदयपुरमा प्राकृतिक स्रोत दोहन गर्ने गरेको ट्याक्टर धमाधम पक्राउ पर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले प्राकृतिक स्रोत साधनहरु अनाधिकृत रुपमा गरिने दोहन चोरी निकासी नियन्त्रण तथा कारबाही गर्ने अभियान अन्तर्गत विहिबार ३ वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ । प्रदेश २–०१–००१ त ०२३५, स १ त २४४७ र स १ त १९७४ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएका थिए । त्रियुगा नगरपालिका २ स्थित लुहाले खोला, त्रियुगा नपा ३ स्थित ठाडी खोला र त्रियुगा नपा ११ स्थित बरुवा खोलाबाट ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए ।
रातको समयमा खोलाबाट अबैध रुपमा बालुवा, गिट्टी, ढुंगा चोरी निकासी गर्ने गरेकोले नियन्त्रणमा लिइएको एसपी दाहालले जानकारी दिए ।

यस अघि सोमबार राति उदयपुरगढी गाउँपालिका ७ बलान खोलाबाट ७ वटा ट्याक्टर नियन्त्रणमा लिइएको थियो ।
पछिल्लो समय पूर्वमा बेलका नगरपालिकादेखि पश्चिममा कटारी नगरपालिकाका खोलानालाबाट नदीजन्य पदार्थ खुल्ला रुपमा चोरी निकासी झन झन बढीरहेको छ ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले तीन महिना नदी जन्य पदार्थ निकासीमा रोक लगाएपनि उदयपुरमा अनुगमन नहुँदा चोरी निकासी बढेको छ । सरकारले असार, साउन र भदौमा खोलानालाबाट नदी जन्य पदार्थ निकासीमा पूर्ण रोक लगाएको छ ।

तपाईको प्रतिक्रिया