उदयपुर । पछिल्लो समय सहज सुरक्षा पहुँच नभएको स्थानबाट खुल्ला रुपमा नदी जन्य पदार्थ चोरी निकासी भईरहेको छ । पूर्वमा बेलका नगरपालिकादेखि पश्चिममा कटारी नगरपालिकाका खोलानालाबाट खुल्ला रुपमा चोरी निकासी झन झन बढीरहेको छ ।
जिल्ला भित्रका विभिन्न स्थानमा प्राकृतिक दोहन भैरहेको भन्ने जानकारीको आधारमा प्रहरीले सोमबार राती उदयपुरगढी गाउँपालिका ७ बलान खोलाबाट अवैध रुपमा ढुंगा, गिट्टी उत्खन्न गरिरहेको ७ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
रातको समयमा खोलाबाट अबैध रुपमा बालुवा, ढुंगा, गिट्टी, चोरी निकासी गरिरहेको अवस्थामा सो ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमप्रसाद दाहालले जानकारी दिए । 
नियन्त्रणमा लिएका स १ त ४९८२, स १ त ४७११, स १ त ६९९४, स १ त ७४०० स १ त ५०२७, स १ त ७००९ नम्बर र एक अन टेष्ट नम्बर नखुलेका सहित ७ ट्याक्र नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुकार प्रहरी निरीक्षकको कमाण्डमा रहेको टोलीले ट्याक्टर नियनत्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले तीन महिना नदी जन्य पदार्थ निकासीमा रोक लगाएपनि उदयपुरमा अनुगमन नहुँदा चोरी निकासी बढेको छ । सरकारले असार, साउन र भदौमा खोलानालाबाट नदी जन्य पदार्थ निकासीमा पूर्ण रोक लगाएको छ । नदी पदार्थ निकासीमा पूर्ण रोक लगाएपनि सिरहा र सप्तरीका अधिकांश ट्याक्टर व्यवसायी तथा निर्माण व्यवसायीहरुले उदयपुरको बलान खोला र लालपत्ता खोलाबाट दिनदाहाडै ढुंगा, गिट्टी, बालुवा उत्खन्न गर्ने गरेको पाईएको छ ।
स्रोतका अनुसार उदयपुरका बलान, लालपत्ता, बभना लगायत खोलानालाबाट चोरी निकासी गरी सप्तरीको सुरुङ्गा नगरपालिका १ शिसुवारी, हनुमानचोक, रक्सहा, कोल्टे, बभना, बाह्रविगहे लगायतका ठाउँमा स्टोक गरेर महंगोमा बेच्ने गरेको स्थानीयहरुको आरोप रहेको छ । तर, नियन्त्रणको लागि सम्बन्धित निकायले कुनै चासो नदिइएको उनीहरुको गुनासो रहेको छ ।
धेरै मात्रामा नदीजन्य पदार्थ उत्खनन हुँदा नदीले धार नै परिवर्तन गरेको स्थानीयहरुको आरोप रहेको छ । साथै यहाँका जलचरलाई पनि असर पारेको छ । 
स्रोतका अनुसार लालपत्ता र बलान खोलाबाट वन कर्मचारी र प्रहरीकै संलग्नतामा नदी जन्य पदार्थको अवैध चोरी निकासी बढेको जनाएको छ । स्रोतका अनुसार चोरी निकासीमा उदयपुरका वन कर्मचारी र प्रहरीका साथै इलाका प्रहरी कार्यालय भेडियाले पनि संरक्षण गर्ने गरेको छ । स्रोतका अनुसार इलाका प्रहरी कार्यालय भेडियाका प्रहरी प्रमुखले नै ट्याक्टर व्यवसायी तथा ठेक्केदारसँग मिलेर स्टोक गरेवापत मोटो रकम असुल्ने गरेको स्थानीयहरुको आरोप रहेको छ ।
असोजपछि पनि वातावरणीय प्रभाव मूल्याङ्कनले उचित ठह¥याए मात्र उत्खनन खुला गरिने र अन्यथा बन्देज कायम राखिएको जिल्ला समन्वय समितिका सहसंयोजक गंगा राईले बताईन् ।
यस्तै उदयपुरसँग सिमाना जोडिएको सिरहा, सप्तरी लगायतका जिल्लाहरुमा उदयपुरबाट बग्ने खोलानाला ति जिल्लाको लागि आन्तरिक आम्दानीको स्रोत बनेको छ ।









