उदयपुर । उदयपुरको कटारीबाट सडकमा आश्रित १० जनालाई शनिबार उद्धार गरिएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सभा सांसद कला घले, कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी), उपमेयर भीम कुमारी राउत, मानव सेवा आश्रमका संयोजक नवराज केसी लगायतले कटारी क्षेत्रबाट ती व्यक्तिहरुको उद्धार गरेका हुन् । 
आफ्न्तबाट घर निकाला भएका, बाटो विराएर घर जान नसकेका कटारी बजारदेखि भोर्ले, बेलस्रोतसम्म हिँडिरहने ६ पुरुष र ४ महिला गरि १० जनालाई उद्धार गरिएको हो । मेयर श्रेष्ठका अनुसार उद्धार गरिएका व्यक्ति दुई वर्षअघिदेखि सडकमा आश्रित रहेका थिए । मेयरले भने, ‘हामीले प्रदेश सरकारसंग समन्वय गरी सडकमा आश्रित मानिसलाई तत्काल मानव सेवा आश्रम लगेर उनीहरुको भरण–पोषण र औषधि उपचार गर्न सहज होस भनी पठाएका छौं ।‘ यो अभियान प्रदेश सरकारको राम्रो अभियान समेत भएको मेयर श्रेष्ठले मुक्त कण्ठले प्रशंसा गरे । 
सामाजिक विकास मन्त्री घिमिरेले सहयोगापेक्षी, सडक आश्रित मानवहरूको उद्धार गरी सडक मानवमुक्त बनाउने प्रदेश १ सरकारको अभियान रहेको बताए ।
‘सडकमा सहयोगापेक्षी, सडक आश्रित मानवहरू देखिने छैनन्,’ मन्त्री घिमिरेले भने, ‘अब पहिलेको तुलनामा बेसहारा, अशक्त, असाहय, अनाथ र अभिभावक विहीन सडक आश्रित मानिस सडकमा कम हुँदै गएको छ ।’ सडकबाट उद्धार गरिएकाहरूको औषधि उपचार, पालनपोषण, पारिवारिक पुर्नमिलनको काम मानव सेवा आश्रमले गर्दै आएको छ । मानव सेवा आश्रम प्रदेश १ ले सडक आश्रित ५५ जना व्यक्तिहरूको उद्धार गरिसकेको जनाएको छ । 
सामाजिक विकास मन्त्रालय, स्थानीय तहहरूसँगको सहकार्यमा सडकबाट उद्धार गरी मानव सेवा आश्रममा ल्याइने गरिएको मानव सेवा आश्रमका संयोजक केसीले जानकारी दिए ।
प्रदेश १ सरकारले सहयोगापेक्षी सडक आश्रित मानवहरुको लागि मानव सेवा ग्राम निर्माणको पनि तयारी सुरु गरेको छ ।










