उदयपुर । उदयपुरमा पहिलो पटक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टी भएका त्रियुगा नगरपालिका ९ का ३४ वर्षिय मालपोत कार्यालय उदयपुरका कर्मचारी आफ्न्त विशाल दनुवार करेन्ट लागेर मृत्यु भएपछि विहिबार मलामी गएका थिए ।
संक्रमण देखिएसँगै मलामी गएका करिब दुई सय सर्वसाधरण थप त्रासमा रहेको स्थानीयले बताए । त्रियुगा नगरपालिका ९ का वडाध्यक्ष धनबहादुर दनुवार पनि मलामी गएपनि संक्रमित युवक भन्दा टाढै रहेको बताए । उनका अनुसार मलामी गएका मध्ये ५–६ जना युवाहरु कोरोना संक्रमितसँगै थिए भने अन्य अत्रतत्र रहेका थिए ।
मलामी गएका सबैलाई घरभित्रै बस्न प्रशासनले आग्रह गरेको छ । उनीहरुको तत्काल कोरोना नदेखिने भएकाले ४–५ दिन भित्रमा परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले बताए ।
संक्रमितले भने आफ्नो फाँटमा बेलका नगरपालिका पनि पर्ने भएकाले त्यहाँका सर्वसाधरण सेवा लिन आउँदा सरेको हुन सक्ने बताएका छन् । बिहीबार मात्रै बेलका नगरपालिका ९ रामपुर बजारका दुई जना व्यवसायीमा कोरोना संक्रमण देखिएको थियो । संक्रमण समुदायमा फैलिन सुरु गरेसँगै स्थानीय प्रशासनले कडाई गर्न थालेको छ ।
यस्तै हप्ता दिन अघि मात्रै संक्रमित युवकको घरदेखि १५० मिटरको दुरीमा रहेका एक प्रहरी जवान विराटनगरमा कोरोना पुष्टी भएको थियो । छिमेकी प्रहरी जवानसँग पनि भेटघाट भएकोले उसबाट पनि कोरोना संक्रमण भएको आशंका गरिएको छ । संक्रमित प्रहरी जवान विदामा साउन १ गते घर आएपछि साउन ५ गते डिउटीमा फर्किएका थिए । उनको श्रीमति तथा परिवारको रिपोर्ट नेगेटिभ आएको छ ।
यस्तै भुल्केका अर्का प्रहरी जवान पनि विराटनगरमा कोरोना संक्रमित भएका थिए । उनी पनि विदामा साउन १ गते आएर साउन ७ गते डिउटीमा गएका थिए । भुल्केका संक्रमित प्रहरी जवानका छोरा, आमा र श्रीमतिको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ ।
सम्बन्धित समाचार









