उदयपुर । उदयपुरको मालपोत कार्यालय बोक्सेका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित ३४ वर्षिय एक पुरुष कर्मचारी रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
मालपोत कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको छ । अर्को सूचना नआएसम्मको लागि मालपोत कार्यालयबाट कुनै पनि सेवा सुविधा उपलब्ध नगराउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले जानकारी दिए ।
उनका अनुसार समुदायमा कोरोना संक्रमण फैलिएकोले सवै सचेत हुनु पर्ने बताए । अतिआवश्यक काम बाहेक कोही पनि घर बाहिरबाट ननिस्किन प्रजिअ पाण्डेले सर्वसाधारणलाई अनुरोध गरेको छ । यस्तै एक जिल्लाबाट अर्को जिल्ला र अन्य जिल्लाबाट यस जिल्लामा आउनेहरुको लागि पनि कडाई गरिएको जानकारी दिए ।
यस्तै मास्क नलगाई बस्नेलाई अवदेखि जरिवाना वा पक्राउ गर्नेसम्मको कार्य थालनी गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए । उनका अनुसार माक्स नलगाई बजार जाने आउने तथा सार्वजनिक स्थलमा भिडभाड नगर्न अनुरोध गरिएको छ ।
यस्तै विहिबार मात्रै बेलका नगरपालिका ९ रामपुर बजारका दुई जना व्यवसायीमा कोरोना संक्रमण देखिएको थियो ।
यसअघि भारतबाट आएका नागरिकहरुमा मात्र देखिएको कोरोना भाइरसको संक्रमण समुदायका नागरिकमा पनि देखिन थालेको छ ।
उदयपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ८८ पुगेको छ । बेलका नगरपालिकामा २४ जना, त्रियुगा नगरपालिकामा ५१ जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकामा १ जना, उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।









