उदयपुर । उदयपुरको बेलका नगरपालिकामा थप दुई जनामा कोरोना भाइरस संक्रमण फैलिएको छ । संक्रमित हुनेहरुमा बेलका नगरपालिका ९ रामपुर बजारका १८ वर्षिय पुरुष र ३५ वर्षिय महिला रहेका छन् ।
१८ वर्षिय पुरुष होटल संचालक हुन भने ३५ वर्षिय महिला कपडा पसल संचालक रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
यस अघि साउन ६ गते ८ जनामध्ये ४ जना समुदाय स्तरका मानिसमा कोरोना संक्रमण फैलिएको थियो । संक्रमित २ वर्षका बालिकादेखि ७० वर्ष उमेरसम्मका रहेका थिए । जसमा एकै परिवारका तीन जना र सोही परिवारमा काम गर्ने एक कामदारमा पनि संक्रमण देखिएको थियो । संक्रमित परिवारका एक ४० वर्षिय पुरुषले पुल खेल्न पुल हाउस जाने आउने गरेको थियो । पछिल्लो चरणमा देखिएको १८ वर्षिय पुरुष पनि पुल हाउसमा पुल खेल्न जाने आउने क्रममा संक्रमण भएको हुन सक्ने अनुमान गरिएको बेलका नपाका स्वास्थ्य शाखा प्रमुख कमल चौधरीले बताए ।
महिलाबारे थप जानकारी लिने काम भईरहेको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए ।
यसअघि भारतबाट आएका नागरिकहरुमा मात्र देखिएको कोरोना भाइरसको संक्रमण समुदायका नागरिकमा पनि देखिन थालेको छ ।
यसअघि पनि वडाध्यक्ष सहित पाँच जना समुदायका मानिसमा कोरोना देखा परेको थियो ।
उदयपुरमा हालसम्म संक्रमितको संख्या ८७ पुगेको छ । बेलका नगरपालिकामा २२ जना, त्रियुगा नगरपालिकामा ५० जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकामा १ जना, उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।









