उदयपुर । जिल्लामा प्रहरी प्रमुखमा नयाँ प्रमुख आएसँगै फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन् । पछिल्लो चरण एकै दिन ३ जना प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका १ भालुखोप बस्ने २८ वर्षिय धनबहादुर राई र सोही ठाउँ बस्ने २५ वर्षिय अमर राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए । उनका अनुसार जिल्ला अदालत उदयपुरको २०७१ कार्तिक ९ गतेको फैसला बमोजिम ज्यान मार्ने उद्योग मुद्धामा जनही ५÷५ वर्ष कैद सजाई तोकी फरार रहेका दुई जनालाई पक्राउ परेको बताए । फैसला कार्यान्वयनको लागि जिल्ला अदालत उदयपुरमा उपस्थित गराई करागार चलान गरिएको एसपी दाहालले जानकारी दिए ।
यस्तै वन मुद्धामा १ लाख ४० हजार ६ सय ७२ रुपैया जरिवाना तोकी फरार रहेका रौतामाई गाउँपालिका ३ बस्ने ५० वर्षिय चन्द्र बहादुर कार्की पनि पक्राउ परेको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले त्रियुगा नगरपालिका ११ पिपल चोकबाट पक्राउ परेको एसपी दाहालले जानकारी दिए । उनलाई पनि फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पठाईएको जनाएको छ ।

तपाईको प्रतिक्रिया