उदयपुर । जिल्लामा १३ जनाले कोरोनालाई पराजित गरेर मंगलबार दिउँसो घर फर्किएका छन् । चौदण्डीगढी नगरपालिका ६ स्थित सातघारे उदयपुर कोभिड विशेष अस्पतालमा उपचारत उनिहरुको लगातार दोस्रो रिपोर्ट पनि नगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । उदयपुरमा एकै पटक यति धेरै संख्यामा कोरोना संक्रमित निको भएको यो पहिलो पटक हो ।
डिस्चार्ज हुनेहरुमा १० वर्षिय बालिकादेखि ५३ वर्षका समेत रहेका छन् । कोरोना पराजित हुनेहरुमा त्रियुगा नगरपालिकाका ९ जना, कटारी नगरपालिकाका ३ जना र ताप्ली गाउँपालिकाका १ जना रहेका छन् ।
कोरोनामुक्त हुनेमा त्रियुगा नगरपालिका ९ का ४० वर्षिय श्रीमान् र श्रीमति ३० वर्षिय पनि छन् । उनीहरु भारतको पंजाव गुडगाँउबाट नेपाल आएका थिए । उनीहरुसँगै ३ वर्षिय छोरी पनि घर फर्किएका छन् । बालिकामा कोरोना पोजिटिभ नदेखिएपनि आमाबुवामा कोरोना देखिएपछि उनीहरुसँगै आइसोलेशनमा पठाएको त्रियुगा नगरपालिकाका स्वास्थ्य प्रमुख अवधनारायण चौधरीले जानकारी दिए ।
यस्तै त्रियुगा नगरपालिकाका २३, २६, ३० र ३५ पुरुषका साथै ३०, ३८ र ५३ वर्षिय महिला पनि कोरोनामुक्त भएर घर फर्किएका छन् ।
यस्तै कटारी नगरपालिकाका १० र १२ वर्षिय बालिका र २१ वर्षिय युवक पनि छन् । उनीहरु एकै परिवारका ५ जना छन् । उनीहरुका आमाबुबा अझै उपचाररत रहेका छन् । उनीहरु भारतको दिल्लीमा होटलमा काम गर्नेहरु हुन् ।
यस्तै ताप्ली गाउँपालिकाका ३५ वर्षिय पुरुष पनि कोरोनामुक्त भएर घर फर्किएका छन् । कोरोनामुक्त हुनेहरु सवै वैदेशिक रोजगारबाट फर्केकाहरु हुन् ।
कोरोनालाई पराजित गर्ने १४ जनालाई अस्पतालको हाता भित्र चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राई लगायत स्वास्थ्यकर्मीहरुले खादा ओढाएर, डायरी र कोरोना नेगेटिभको सर्टिफिकेट दिएर विदाई गरेका थिए । सो अवसरमा उनले अझैपनि केही दिन घरमा गएर एकान्तवासनै बस्न सल्लाह सुझाव दिंदै लकडाउनको पालना गर्न आग्रह गरे ।
अस्पतालको गेटमा उदयपुर कोडिभ विशेष अस्पताल तथा चौदण्डीगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पोखरेल निको भएका सबैलाई स्वागत सम्मान गर्दै सानो समयमै कोरोनालाई पराजित गर्न सफल भएकोमा बधाई दिए । उदयपुरमै पहिलो पटक एकै पटक ठूलो संख्यामा कोरोना भाइरस पोजेटिभ निको भएर घर फर्किएका हुन् ।
अहिलेसम्म ७६ जनामा कोरोना संक्रमण देखिएको मध्ये ६४ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् । कोरोनामुक्त हुनेहरुमा त्रियुगा नगरपालिकामा ४९ जना, कटारी नपामा ५ जना, बेलका नपामा ५ जना, चौदण्डीगढी नपामा १ जना, ताप्ली गाउँपालिकामा ३ जना र उदयपुरगढी गापामा १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
अहिले उदयपुर कोभिड विशेष अस्पतालमा एक वडाध्यक्ष र एक महिलासहित ८ जनाको उपचार भईरहेको छ ।
चौदण्डीगढी बेल्टार सातघारेमा अवस्थित उदयपुर कोभिड अस्पताललाई २० शैय्याबाट एक सय शैय्यासम्म विस्तार गर्ने योजना रहेको छ ।

तपाईको प्रतिक्रिया