उदयपुर । त्रियुगा नगरपालिका ११ स्थित गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरले सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै लेखेको स्टाटस् प्रति नेपाल पत्रकार महासंघ उदयपुरले विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको छ ।
समाचारको विषयलाई लिएर सिभिल हस्पिटलले आफ्नो आधिकारिक फेसबुकमा पत्रकार र पत्रकारिताप्रति लक्षित गरी लेखेको अपशब्दसहितको स्टाटस आपत्तिजनक मात्र नभई कानुन विपरित रहेको भन्दै महासंघले कारवाहीको माग गरेको हो ।

उपचारको विषयलाई लिएर पटक पटक विवादित बन्दै आएको सो हस्पिटलले आफ्ना काला कर्तुतहरु लुकाउन यस्तो हर्कत गरेको ठहर गर्दै महासंघले एउटा जिम्मेवार स्वास्थ्य संस्थाको लापरवाही र सेवाग्राहीले राख्ने गुनासोको समाचार लेख्नु पत्रकारिताको धर्म हो भनेको छ । बेलाबेलामा स्वतन्त्र पत्रकारितालाई कुण्ठित गर्ने, दबाब र प्रभावमा पार्ने प्रयास हुने गरेको भन्दै त्यसकै दृष्टान्तको रुपमा अस्पतालको हर्कतलाई महासंघले लिएको विज्ञप्तीमा उल्लेख छ ।

स्टाटसको विषयमा महासंघले कुरा गर्दा अस्पताल सञ्चालक समितिका अध्यक्षसमेत रहेका प्रमुख डाक्टर सञ्जयकुमार साहले अस्पतालको विषयमा मिडियाले समाचार लेख्यो, मैले स्टाटस लेखेँ भन्दै गैरजिम्मेवार जवाफ दिएपछि महासंघ अस्पतालको गलत हर्कतको विरुद्ध उत्रिएको हो । सञ्चार माध्यममा आएका विषयमा चित्त नबुझे कानुनी उपचारको बाटो रोज्ने अधिकार हुदाहुदै सामाजिक सञ्जालको दुरुपयोग गरेर कुनै सम्मानित मेशाको मर्यादा र गरिमामाथि आँच पुर्याउन आपत्तिजनक मात्र नभई कानुन विपरित काम भएको महासंघले ठहर गरेको छ ।
एक जिम्मेवार स्वास्थ्य संस्थाले गरेको सामाजिक सञ्जालको दुरुपयोग, पेशाप्रतिको मानमर्दन र गैरजिम्मेवारीपनको छानविन गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसंग माग गरेको छ ।

“सञ्चार माध्यममा आएका विषयमा चित्त नबुझे कानुनी उपचारको बाटो रोज्ने अधिकार हुदाँहुदै सामाजिक सञ्जालको दुरुपयोग गरेर कुनै सम्मानित पेशाको मर्यादा र गरिमामाथि आँच पुर्याउन आपत्तिजनक मात्र नभई कानुन विपरित भएको महासंघको ठहर छ । अतः सम्बन्धित निकायले छानविन गरी कानूनी दायरामा ल्याउन जोडदार माग गर्दछौं ।” महासंघ शाखा सचिव पर्शुराम थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । महासंघले प्रेस तथा स्वतन्त्र अभिब्यक्तिको रक्षाका लागि सबैलाई आव्हान गर्दै जनउत्तरदायी पत्रकारिताको रक्षामा दृढ रहेको विज्ञप्तीमा जनाएको छ ।
अस्पतालले हिजो अस्पतालको अफिसियल फेसबुक ‘गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टर’मा पत्रकार र पत्रकारितालाइ लक्षित गरी खेदजनक स्टाटस् राखेको छ ।

तपाईको प्रतिक्रिया