उदयपुर । घरेलु तथा साना उद्योग विकास कार्यालय उदयपुरले जिल्लाका उद्यमीहरुलाई उपयुक्त प्रविधि औजार हस्तान्तरण गरेको छ । कार्यालयले मंगलबार एक कार्यक्रमको आयोजना गरी जिल्लाका लघु, घरेलु र साना उद्यमीहरुलाई औजार हस्तान्तरण गरिएको हो ।
आर्थिक वर्ष २०७६÷७७ को उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम अनुसार सामग्री हस्तान्तरण गरिएको घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख पाक्रम खाँ (चौधरी) ले बताए ।
परम्परागत औजारको प्रयोगबाट काम गरिरहेका उद्यमीहरुलाई आधुनिक तबरले कार्य सञ्चालनमा सहज होस् भन्ने हेतुले औजार हस्तान्तरण गरिएको चौधरीले बताए । व्यवसायिक रुपमा काम गरेका र लागत सहभागिता बढी तर उत्पादन कम लिएका उद्यमीहरुलाई यस्ता औजारले उत्पादन बृद्धि र लागत कम गर्न सहयोग पुग्ने उनको भनाई छ ।
घरेलु तथा साना उद्योग कार्यालयमा आयोजित कार्यक्रममा ६३ जना उद्यमीहरुले ८० प्रतिशत अनुदानमा आधुनिक उपकरणहरु पाएका हुन् । कार्यालयले मंसिर दोस्रो साता सूचना प्रकाशन गरी आएको निवेदनहरुलाई छनौट समितिद्वारा छनौट गरी छानिएका ६३ जना उद्यमीहरुले आाफूले माग गरेका उपकरणहरु प्राप्त गरेका हुन् । कार्यक्रममा ५० लाख बराबरको अनुदान औजार हस्तान्तरण गरिएको कार्यालयले जनाएको छ । 
कार्यक्रममा ट्याक्टर, मिनी टिलर, तेल पेल्ने मेसिन, मसला पिस्ने मेसिन, चाउ नुडल बनाउने मेसिन, डिफ्रिज, जेनेरेटर, जेनेरेटर डेन्मो, सोलार, व्याट्री, सिलाई कटाई मेसिन, पानी तान्ने पम्प, फर्निचरका सामग्री बनाउने मेसिन तथा विभिन्न किसिमका ल्यापटप, कम्प्युटर लगायत सामग्री वितरण गरेको थियो । 
उपयुक्त प्रविधि वितरण कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले अनुदानको लागि मात्रै प्रविधि नलिई यसको सहि सदुपयोग गर्नु पर्ने बताए । उनले प्रविधिको प्रयोग गरी स्वरोजगार मात्र नभई अन्यलाई पनि रोजगारी दिई आर्थिक समृद्धिमा लाग्न अनुरोध गरेका थिए । 
अन्य वक्ताहरुले विगतका भन्दा यस वर्ष घरेलु तथा साना उद्योग कार्यालयले वितरण गरेको उपयुक्त प्रविधि लकडाउनको विच पार्दशी तवरले वितरण गरेको बताए । अतिथिहरु घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष मधुकर थापा, जिल्ला लघु उद्यमी संघका अध्यक्ष अम्बिका रेग्मी, खाद्य तथा गुणस्तर कार्यालय गाईघाटका प्रमुख रमेश दाहाल, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगत लगायतको उपस्थिती रहेको थियो ।














