उदयपुर । राष्ट्रिय युवा परिषदद्वारा संचालित युवामैत्री स्थानीय शासनमा चौदण्डीगढी नगरपालिका १ नं. प्रदेशमै उत्कृष्ठ तथा प्रथम भएको छ । राष्ट्रिय युवा परिषदले आर्थिक वर्ष २०७६÷०७७ को लागि युवामैत्री स्थानिय तहका लागि बनाएको सुचाङ्कको आधारमा चौदण्डीगढी नगरपालिका प्रथम भएको कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले पत्राचार गरेर बधाई दिएका छन् ।
परिषदले बनाएको सूचकको आधारमा ७७.५ अंक प्राप्त गरी प्रथम भएपछि चौदण्डीगढी नगरपालिकाले प्रोत्सहान स्वरुप ५ लाख र प्रमाण पत्र पाएका छन् ।
स्थानीय तहहरुको लागि स्वंमुल्याङ्कनका दिईएको फारम तथा परिषदलाई प्राप्त भएको कागजातको आधारमा मुल्याङ्कन गर्दा प्रथम भएको हो । प्रोत्साहन स्वरुप प्राप्त रकम युवाकै क्षेत्रमा कार्यक्रम गरि प्रतिवेदन पेश गर्नका लागि नगरपालिकालाई आग्रह गरिएको छ ।
चौदण्डीगढी नगरपालिकाले युवा शक्तिलाई प्रोत्सहान गर्न विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । चौदण्डीगढी नगरपालिका युवा क्षेत्रमा लगानीको लागि उदारता देखाउँदै आएकोले यो पुरस्कारको भागीदार भएको नगरपालिकाका सूचना अधिकारी सत्यनारायण हुजदारले बताए । उनका अनुसार युवामैत्री शासनका लागि चौदण्डीगढी नगरपालिका कहिले पनि नाई भनेको छैन् ।
राष्ट्रिय युवा परिषदले कुनै व्यक्ति विशेषलाई नहेरेर कामको आधारमा सहि मुल्याङ्कन गरेको प्रति मेयर खगेन्द्र राईले धन्यवाद दिएका छन् । उनका अनुसार जनप्रतिनिधि निर्वाचित भएसँगै युवाहरुको क्षेत्रमा विभिन्न कार्यक्रमहरु विनियोजन गर्दै आएको मेयर राईले बताए । युवाहरुको लागि विभिन्न खेलकुद कार्यक्रम, प्रोत्साहनमूलक तथा रोजगारमूलक कार्यक्रमहरु संचालन गर्दै आएको नगर प्रमुख राईले बताए । आगामी दिनहरुमा पनि नगरपालिकाले युवाहरुको क्षेत्रमा थप सशक्त युवामैत्री कार्यक्रमहरु बनाएर अघि बढ्ने बताए ।









