राजेन्द्र महतो, लहान । सिरहाका ३२ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई जितेका छन् । जिल्ला अस्पताल सिरहा र महेन्द्र गेनाई अस्थायी कोरोना अस्पतालको आईसोलेसनमा उपचारत शनिवार साँझ कोरोना संक्रमित ३२ जना डिस्चार्ज भएका हुन् ।
जिल्ला अस्पताल सिरहाको आइसोलेसनमा सिरहा नगरपालिकाका ७ जना, कल्याणपुर नगरपालिकाका ५ जना, नरहा गाउँपालिकाका ५ जना र झापाको विर्तामोडका १ जना गरी १८ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।
यस्तै महेन्द्र गेनाई अस्थायी कोरोना अस्पतालको आईसोलेसनबाट सिरहा नगरपालिकाका ९ जना, सुखिपुर नगरपालिका, गोलबजार नगरापलिका, कर्जन्हा नगरपालिका, बरियारपट्टी गाउँपालिका, विष्णुपुर गाउँपालिका १–१ जना गरि ३२ जना कोरोना जितेर घर फर्किएका हुन् ।
दोस्रो पटकको पिसिआर जाँचको रिर्पोट निगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरेको अस्पतालका प्रमुख डा. सरविन्द मण्डलले जानकारी दिए ।
कोरोना जितेर घर फर्किएका उनीहरु भारतको विभिन्न सहरबाट फर्किएर विभिन्न नगरपालिका तथा गाउँपालिकाहरुकोे क्वारेनटाईनमा बसेका थिए ।
जिल्लाभरीमा अझै जिल्ला अस्पतालको आइसोलेसनमा १ जना, च. मा.वि.को आईसोलेसनमा ७६ जना र महेन्द्र गेनाई कोरोना अस्थायी अस्पतालमा २८ जना गरी १ सय ५ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।









