उदयपुर । उदयपुरमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ । शनिबार मात्रै आठ जनामा कोरोना संक्रमण देखिएको छ । दिउँसो ३ महिला सहित ७ जनाको कोरोना रिपोर्ट आएपछि राति अबेर थप एक जना महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
संक्रमित हुनेमा त्रियुगा नगरपालिका ४ की ३८ वर्षीय महिला रहेकी छन् । उनी असार ९ गते खाँडीमुलुक कुवेतबाट नेपाल फर्किएर मोतिगडाको क्वारेन्टाइनमा बस्दै आएकी महिला रहेको त्रियुगा नगरपालिकाका स्वास्थ्य प्रमुख अवधनारायण चौधरीले जानकारी दिए । राति अबेर रिपोर्ट आएपनि राति नै उदयपुर कोभिड अस्पताल बेल्टार पठाएको जनाए ।
सवैलाई उदयपुर कोभिड अस्पाल बेल्टारको सातधारेको आइसोलेसनमा लगिएको छ । योसँगै उदयपुरमा संक्रमितको संख्या ६० जना पुगेको छ ।
अहिले सम्म उदयपुरमा १४ जना महिला सहित ६० जनामा कोरोना पुष्टि भएको छ । जसमा त्रियुगा नगरपालिकामा ४९ जना, बेलका नगरपालिकामा ५ जना, कटारी नगरपालिकामा २ जना, उदयपुरगढी गाउँपालिकामा २ जना, चौदण्डीगढी नगरपालिकामा १ जना र ताप्ली गाउँपालिकामा १ रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
यस्तै अहिलेसम्म ३९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया